काठमाडौं, २७ वैशाख । नेपाल भ्रमणअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (शुक्रवार) विहान ९ बजे जनकपुर पुग्नेछन् । जनकपुरबाट भ्रमण शुरु गर्ने मोदी दिउँसो १ बजेतिर काठमाडौं उत्रिनेछन् । मोदीको नेपाल भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाएको जनाएको छ । मोदीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा राज्यका ४ वटै सुरक्षा निकाय परिचालन हुनेछन् । मोदी जाने क्षेत्र जनकपुर, काठमाडौं र मुस्ताङमा भारतबाट आएको विशेष सुरक्षा दस्ताले पनि नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार मोदीको सुरक्षाका लागि भारतबाट आएको सुरक्षा टोली पहिलो घेरामा हुनेछ । दोस्रो घेरमा नेपाली सेना हुनेछ भने सशस्त्र र नेपाल प्रहरी तेस्रो घेरामा हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई बाहिरी अवस्थाको अध्ययनका लागि परिचालन गरिने छ ।
काठमाडौंमा १० हजार सुरक्षाकर्मी
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सबैभन्दा बढी समय काठमाडौंमा बिताउँनेछन् । मोदी काठमाडौंमा बस्दा सुरक्षा व्यवस्थापनका लागि १० हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । मोदीको सुरक्षाका लागि काठमाडौंमा सबैभन्दा बढी, ६ हजारको संख्यामा नेपाल प्रहरी, ३ हजार ३ सयको संख्यामा सशस्त्र प्रहरी र ७ सयको संख्यामा नेपाली सेना परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुर समेत मोदीको सुरक्षाका लागि परिचालन गरिनेछ । मोदीको सवारी हुने सडकमा सेना र प्रहरीका कुकुरबाट निगरानी गरिने छ ।
उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच कडा
प्रहरीले बिहीवार विहानैदेखि काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँचमा कडाइ गरेको छ । उपत्यका भित्रिने सबै सवारीसाधनको इन्ट्रि र चेक–जाँच भइरहेको प्रहरीले जनाएको छ । उपत्यका भित्रिने महत्त्वपूर्ण नाका नागढुङ्गा र काभ्रेको धुलिखेल तथा बनेपामा जनशक्ति थप गरेर चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।विहीवार अपराह्नसम्म करिब १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र फेसबूकलगायतका सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइने छ । ‘बिहीवार विप्लवका केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी स्रोतले भन्यो, ‘शुक्रवार विहानसम्म करिब २०० जनालाई नियन्त्रणमा लिने तयारी छ ।’
प्रहरीले फेसबूकलगायत सामाजिक सञ्चालमा मोदीको नेपाल भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी गरेको छ ।
‘केही व्यक्ति सामाजिक सञ्जालमार्फत अराजकता फैलाउन उद्दत देखिएका छन् । त्यस्ता व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ,’ प्रहरीका अधिकारीले भने, ‘लागूऔषध प्रयोग गर्ने तथा पैंसा पाए जे पनि गर्ने नेचर भएका व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ ।’