आज भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदै, प्रदेश २ मा सार्वजनिक विदा

आज भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदै, प्रदेश २ मा सार्वजनिक विदा

जनकपुर, २८ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ ।   दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् । मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउनुहुनेछ । 

जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्नुहुनेछ । रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नुहुने छ ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर मोदीलाई स्वागत गर्नु हुनेछ । बाह्रविघा मैदानमा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ समारोहमा मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले अभिनन्दन गर्नु हुनेछ । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ । स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराएर स्वागत गर्ने योजना छ ।

नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्नु हुनेछ । त्यसपछि उहाँ काठमाडौं जानुहनेछ ।  मोदीलाई भव्य स्वागत तथा अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरदेखि बाह्रविघा मैदान र जनकपुर विमानस्थलसम्मको बाटोलाई सजाएको छ । प्रदेश नम्बर २ सरकारले मोदीको आगमनलाई उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिएको छ ।

प्रदेश नम्बर २ को ८ जिल्लाबाट मोदीको नागरिक अभिनन्दन कार्यक्रममा एकलाख भन्दा बढी सर्वसाधारण सहभागि राउने प्रदेश सरकारको योजना रहेको छ । अभिनन्दन कार्यक्रममा सहभागि हुन बाह्रविघामैदानको उत्तरी गेटबाट सर्वसाधारणलाई सहभागि हुने व्यवस्था मिलाएको छ भने बाह्रविघाको पश्चिम गेटबाट सञ्चारकर्मी र बाह्रविघाको दक्षिण गेटबाट विशेष व्यक्तिहरुले प्रवेश गर्न पाउने छन् ।

मोदी आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश सरकारका गृहमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्