भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा

भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि  काठमाडौंमा सुरक्षा व्यवस्था कडा

देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २८ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका लागि राजधानी काठमाडाँैंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थापनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरी राज्यका चारवटै सुरक्षा अङ्ग परिचालन गरिएको जानकारी दिएको छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा समितिसमेत गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रधानमन्त्री मोदीको भ्रमणका लागि उच्च तहको सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण शुक्रबार जनकपुरबाट आरम्भ हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा राजकीय भ्रमणका लागि आउने प्रधानमन्त्री मोदी दिउँसो करिब १ बजे जनकपुरबाट काठमाडाँैं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको सवारी व्यवस्थापनका लागि छिटोछरितो सवारी मार्ग अपनाइएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सर्वसाधारणलाई असर नपर्ने गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको बताउनुभयो । दुईदिने भ्रमणका क्रममा २८ गते दिउँसो साढे १ बजेदेखि काठमाडौँको मुख्य सडकमार्गमा सर्वसाधारणको आवतजावत तथा सवारी सञ्चालनमा गाह्रो हुने देखिएको छ । वैशाख २९ गते बौद्धदेखि विमानस्थलसम्मको सडक अवरुद्ध हुनेछ ।
ट्राफिक प्रहरीका अनुसार प्रधानमन्त्री मोदीको सवारीका लागि पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला, चाबहिल बौद्ध हायात होटलसम्म, त्यसपछि बौद्ध, चाबहिल, गौशाला, सिनामङ्गल, कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली, रत्नपार्क हँुदै सैनिक मञ्च टँुडिखेलसम्मको सडक अवरुद्ध हुनेछ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टँुडिखेलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँंग शिष्टाचार भेट गर्नुहुनेछ । यो अवधिमा टँुडिखेल, लैनचौर, लाजिम्पाटदेखि महाराजगन्ज सम्मको सडक अवरुद्ध हुनेछ । प्रधानमन्त्री मोदी धार्मिक तीर्थयात्राका क्रममा वैशाख २९ गते बिहान मुस्ताङको जोमसोम प्रस्थान गर्ने क्रममा बौद्धदेखि विमानस्थलसम्मको सडक अवरोध हुनेछ ।
दिउँसो जोमसोमबाट फर्किएलगत्तै उक्त रुट पुन अवरुद्ध हुनका साथै बौद्ध, चाबहिल, बत्तीसपुतली सम्मको सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्