देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित

देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित

देवबहादुर कुँवर

काठमाडौंँ, जेठ १ गते । मनसुनमा आएको परिवर्तनसंँगै देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । दक्षिणी वायु सक्रिय भएसंँगै आइतबारबाट सुरु भएको अविरल वर्षाका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बाढीले बगाउँदा कक्षा ११ को परीक्षा दिन जाँदै गरेकी एक छात्रा बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बिहान साथीहरूसंँगै रुद्रेश्वर माविमा परीक्षा दिन जाँदै गरेकी मन्थली माविकी छात्रा उष्मा फुयाल रणजोर खोलामा आएको बाढीले बगाई बेपत्ता भएकी छन् ।
सोही बाढीमा फसेका अन्य चार जना छात्राको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अमरेन्द्र सिंहले बताउनुभयो । बेपत्ता छात्राको खोजी जारी रहेको जानकारी उहाँले दिनुभयो ।
बाढीका कारण मन्थली बसपार्क र खाँदबारी बजार क्षेत्र प्रभावित भएका छन् । बाढीसँगै आएको पहिरोका कारण दुई दर्जन घर प्रभावित भएका छन् । जिल्ला प्रहरी प्रमुख सिंहका अनुसार बाढी प्रभावितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै बाढीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका–२, भुरुङ तातोपानी क्षेत्रमा दुई घर बगाएको छ । भुरुङ ठाडोखोलामा आएको बाढीका कारण मानवीय क्षति नभए पनि ११ वटा घरपरिवार विस्थापित भएका छन् ।
वर्षाका कारण नेपाल–चीन सिमाना जोड्ने केरुङ–रसुवागढीको स्यापु्रm, बेनी–जोमसोम, दाङ भालुवाङ–प्यूठान जोड्ने सडकमार्गमा पहिरो जाँदा केही घन्टा सवारी आवागमन अवरुद्ध भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले स्याफ्रुमा अवरुद्ध सडक तीन घन्टापछि एकतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ । कैलाली, दाङ, प्यूठान, पाल्पा लगायतका क्षेत्रमा हावाहुरीका कारण टिनको छाना लगाएका घरटहराहरूमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दक्षिणी वायु बुधबारसम्म सक्रिय रहने भएकाले वर्षा जारी रहने जनाएको छ । मौसमविज्ञ गङ्गा नगरकोटीका अनुसार तीन दिनपछि मौसम सामान्य बन्दै जानेछ ।
उहाँले अचानक दक्षिणबाट नेपाल प्रवेश गरेको वायुसंँगै मनसुन सक्रिय हुँदा देशका विभिन्न भूभागमा भारी वर्षा भएको जानकारी दिनुभयो । “यो मनसुन सबै स्थानमा एउटै किसिमले सक्रिय हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले कहीँ भारी वर्षा हुने, कहीँ रोकिने गरेको छ । ”
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझसम्ममा देशका १५ स्थानमा वर्षा भएको छ । दोलखाको जिरीमा सबैभन्दा धेरै वर्षा भएको छ । त्यसपछि नेपालगन्ज, दाङ, सिमरा, सुर्खेत, वीरेन्द्रनगर, धनकुटा, ओखलढुङ्गा लगायतका क्षेत्रमा वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्