जेठ १ । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् ।
प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । फ्रेन्च लिगका क्रममा घाइते भएका २६ वर्षीय नेइमारको खुट्टाको शल्यक्रिया गरिएको छ । हाल रिकभरीको क्रममा रहेका नेइमार रुस विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ । नेइमारसँगै ब्राजिलको अग्रपंक्ति गाब्रिएल जिसस, रोबर्टो फिरमिनो र टेइसनले सम्हाल्ने छन् ।
डेनिलो, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, क्यासिमेरो, फर्नान्डिन्हो, पाउलिन्हो, फिलिप कोटिन्हो, विलियनले पनि विश्वकप खेल्ने ब्राजिलको टोलीमा स्थान बनाएका छन । टिटेले आफ्नो स्क्वाडमा तीन जना ब्राजिलियन क्लबबाट खेल्ने खेलाडी समावेश गरेका छन् । डानी आल्भेसले भने चोटग्रस्त हुदै विश्वकप गुमाएका छन् । टिटे सामु विश्वकपमा गुमेको ब्राजिलको साख फिर्ता ल्याउनु पर्ने जिम्मेवारी रहेको छ ।
घरेलु मैदानमा अघिल्लो पटक भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ब्राजिल सात एक गोलले पराजित भएको थियो । ब्राजिलको टोलीले २१ मेदेखि रियो दि जनेरियोमा संयुक्त अभ्यास गर्नेछ । त्यसपछि लन्डनमा केही समय अभ्यास गरेपछि पाँच पटकको च्याम्पियन रुस प्रस्थान गर्ने तालिका रहेको छ । समूह बी मा रहेको ब्राजिलसँगै स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन । ब्राजिलले समूह चरणको पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।