ग्रामथानलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन यस्ता योजना

ग्रामथानलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन यस्ता योजना

विराटनगर, ५ जेष्ठ । ग्रामथान गाउँपालिकालाई नेपालकै पहिलो गाउँ बनाउने अभियान शुरु गरेको छ । २०७६ साल भित्र नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गर्न रणनीतिक कार्ययोजना र कार्यविधिहरु तयगरी प्रतिवद्धता समेत जनाएको छ ।
३ दिने रणनीतिक योजना निर्माण कार्यशालामा बालविवाह तथा दाइजो प्रथा अन्त्य गर्ने कार्यविधि २०७५, बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षण कार्यविधि २०७५, बालमैत्री घोषणाको लागि रणनीतिक योजना, हिंसा रहित विद्यालय ब्यवस्थापन निर्देशिका २०७५लाई अन्तिमरुप दिएको कार्यपालिकाका प्रशासकिय अधिकृत प्रमोद चौधरीले जानकारी दिए ।
साथै उक्त कार्यविधिहरुलाई कार्यपालिकामा पेश गरी लागू गरिने र तुरुन्त कार्यान्वयनमा ल्याउने उनको भनाई छ । ग्रामथान गाउँपालिकाका निर्वाचित जनप्रतिधिहरु, कार्यपालिकाका पदाधिकारी, विषयगत निकाय, गाउँपालिकाका कर्मचारीहरु, बालक्लबको सहभागितामा दफावार छलफल गरी बालमैत्री बनाउन उक्त कार्यविधि तथा निर्देशिकालाई अन्तिमरुप दिइएको हो । कार्यशालालाई फरेनका अध्यक्ष यज्ञ शर्मा, वल्र्ड भिजनका संरक्षण संयोजक प्रमिल अधिकारी, केन्द्रिय बालकल्याणका बालअधिकार स्रोत ब्यक्ति सुमन अधिकारी र शिक्षा अधिकृत यादव दुलालले सहजीकरण गरेका थिए ।
प्रदेश सभाका सांसद विजय विश्वासले बालमैत्रीलाई ब्यवहारमा रुपन्तरण गरी नेपालकै पहिलो बालमैत्री बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गाउँपालिकाका उपाध्यक्ष फूलकुमारी चौधरी र अध्यक्ष शिव नारायण माझी र सबै वडाका वडाअध्यक्षले २ वर्ष भित्र बालमैत्री बनाउन सबै सूचकहरु पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे । बालविवाह मुक्त वडा, शतप्रतिशत जन्मदर्ता, खुला दिशामुक्त, पुर्ण खोप, शत्प्रतिशत विद्यालय भर्ना, बालश्रम न्यूनिकरण, बालक्लब गठन र प्रवद्र्धनलाई प्राथामिकताका साथ अगाडि बढाउने बक्ताहरुले प्रतिवद्धता गरेका छन् ।
कार्यशालालाई प्लान इन्टरनेश्नल नेपाल र नारी विकासले आर्थिक सहयोग गर्नुका साथै वल्र्ड भिजन इन्टरनेश्नल र फरेनले प्राविधिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्