झापाको दमकमा जबरजस्ती बस्ती उठाउने नगरपालीको प्रयास पछी तनाव

झापाको दमकमा जबरजस्ती बस्ती उठाउने नगरपालीको प्रयास पछी तनाव

झापा ६ जेठ । झापाको दमकस्थित हाटखोलाको सुनदोकान लाइनमा दमक नगरपालिकाले बल प्रयोग गरेर पुरानो वस्ती भत्काएपछि सो कार्यको सर्वत्र विरोध भएको छ ।

शनिबार बिहानै सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सर्वसाधारणलाई आतंकित पार्दै नगरपालिकाले बस्तीवासीमाथि धावा बोलेको थियो ।
दमक नगरपालिकाले दमक वडा नम्बर ७ को सो जग्गा आफ्नो स्वामित्वको भएको र त्यहाँ नगरपालिकाले चाहे बमोजिमको संरचना निर्माण गर्ने भन्दै वस्ती उठान पटक पठक प्रयास गर्दै आइरहेको थियो ।
शनिबार नगरपालिका जनप्रतिनिधिहरुको अगुवाईमा सुरक्षाकर्मी परिचालन गरी १० भन्दा बढी घरटहरा भत्काउने काम भएको थियो ।
तर, करिब ३० भन्दा बढी घर परिवार बस्दै आएको सो वस्तीमा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षाजत्था लिएर दमक नगरपालिकाकाले धावा बोलेपछि स्थानीय आक्रोशित मात्रै भएनन् । प्रतिकारको प्रयास पनि गरे ।
२०६१ बैशाख १७ गते भन्दा अघिसम्म स्थानीय हरिमाया माझीको नाममा सो जग्गा स्रेस्ता रहेको जिकिर गर्दै आएका थिए भने २०५४ सम्म दमक नगरपालिकाले धुरीकर समेत लिँदैआएको स्थानीयले बताएका छन् । तर, ०६१ बैशाख १७ मा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट दमक नगरपालिकाको नाउँमा भोगचलन अधिकार लिएर वस्ती उठाउन नगरपालिका लागि परेको हो ।
शनिबार करिब चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीयलाई आवतजावत गर्न समेत रोकेर नगरपालिकाले डोजर प्रयोग गरी केही पसल र घरहरु भत्काएको थियो ।

पीडित मञ्जु चौधरीका अनुसार नगरपालिकाले आफ्नो र छिमेकीहरुको घरमा डोजर लगाएर उठिबास पारेको र अन्यत्र जाने ठाउँ पनि नरहेकाले बिचल्लीमा परेको दुखेसो पोखिन् । पीडित लक्ष्मी मगरले आफूहरुसँग २००७ सालदेखि सो बसोबास हुँदैआएको प्रमाण रहेको भन्दै नगरपालिकाले आतंक सिर्जना गरेर धपाउन खोजेको भन्दै आक्रोश पोखिन् ।
स्थानीय युवा अगुवा बिक्रम सुब्बाले गरिब सुकुम्बासीहरुलाई उठिबास लाएर गरिने कुनै पनि विकास आफूहरुलाई नचाहिने भन्दै अघोषित कफ्र्यु लगाएर गरिएको घरटहरा भत्काउने कार्य निन्दनीय भएको टिप्पणी गरेका छन् । दमक नगरपालिकाले करिब ११ कठ्ठा जमिन रहेको सो ठाउँमा अत्याधुनिक र सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

यसैबीच सङ्घीय समाजवादी फोरम, नेपाल दमक नगर समितिले भने दमक ७ को सो वस्ती उठाउने कार्य गलत भएको भन्दै विज्ञप्ति जारी गरेर भत्र्सना गरेको छ ।
ससफो दमक नगर अध्यक्ष वासुदेव राई र सचिव हरि राईले संयुक्त हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा विपन्न जनतालाई घरबारबिहीन पारेर गरिने विकास आफूहरुलाई मान्य नहुने उल्लेख छ ।
गरिब जनतालाई बासको वैकल्पिक प्रवन्ध गरेर मात्रै वस्ती उठाउन दमक नगरपालिकालाई आग्रह गर्दै ससफोले अन्यथा आन्दोलित हुने चेतावनी दिएको हो । आफूहरु विकास विरोधी नभएको जिकिर गर्दै ससफो दमक नगरले विज्ञप्तिमा वाम एकताको पहिलो चरणमै गरिब जनताको गाँसबास खोस्ने तहमा उत्रिएको आरोपसमेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्