उनले भने–‘९ महिना, एक वर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थीररुपमा पाँच वर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।’
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औं स्थापना दिवस समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमासमेत बताए ।
‘बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँच वर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्यांकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ । सरकारले पाँच वर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्यांकन गर्छन् । सरकार अब खरोरुपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ’–उनले भने ।
अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँच वर्षको मार्गचित्र कोरेको स्पस्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिए ।
उनले सत्ता प्राप्तिभन्दा राजनीतिक स्थायित्वलाई बलियो बनाउन दुई कम्युनिष्ट पार्टीकाबीचमा एकता भएको र यो एकतालाई अब कुनै शक्तिले भाँजो हालेर टुक्र्याउन नसक्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत कम्युनिष्ट एकताबाट राजनीतिक स्थिरता र विकास आउने विश्वास बुधबार बालुवाटारमा भएको बैठकमा व्यक्त गरेको स्मरण गराउँदै उनले सबै मिलेर अब आर्थिक विकासमा लाग्नुपर्ने विचार व्यक्त गरे ।
‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रलेमात्र देशलाई समृद्धितर्फ डोर्याउँछ, यसका लागि हामीलाई विदेशी लगानी, सीप र प्रविधि पनि चाहिन्छ’–उनले भने ।
पार्टी महासचिव विष्णु पौडेलले अब मुलुकमा स्थायित्व र विकास आउने बताए ।
कार्यक्रममा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटले भौतिक पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । रासस