काठमाडौँमा पनि बर्डफ्लुको सङ्क्रमण देखियो

काठमाडौँमा पनि बर्डफ्लुको सङ्क्रमण देखियो

सरोज ढुङ्गेल

काठमाडौँ, जेठ १३ गते । कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिन बर्डफ्लुको सङ्क्रमण देखिएको पूर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौँमै बर्डफ्लु देखिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्वर ६ लामावगर र धर्मस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच वर्ष अघि पनि काठमाडौँमा बर्डफ्लु देखिएको थियो । 

कृषि , भूमि व्यवस्था तथा सहकारी (पशुपक्षी) मन्त्रालयका सहसचिव डा. केशवप्रसाद प्रेमीले बर्डफ्लु देखिएको स्थानमा भएका हाँस, कुखुरा, अण्डा र दाना नष्ट गरिसकेको जानकारी दिँदै अहिले उक्त क्षेत्र सरकारले निगरानीमा राखेको बताउनुभयो । डा. प्रेमीका अनुसार तारकेश्वरकी स्थानीय शान्ति तामाङ र धर्मस्थलीमा हिरा तामाङले पालेका हाँसमा बर्डफ्लु देखिएको पुष्टि भएको बताउनुभयो ।
एक हप्ता अघिदेखि हाँस मर्न थालेपछि बर्डफ्लुको आशङ्का गरिएकोमा शुक्रबार केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो । डा. प्रेमीले त्यस क्षेत्रका चारहजार २५१ हाँस, १८० कुखुरा, २५० किलो दाना र तीनहजार ७२० अण्डा नष्ट गरिएको जानकारी दिनुभयो ।
यता बर्डफ्लु देखिएको क्षेत्रलाई सरकारले नियन्त्रणमा लिएर त्यस क्षेत्रका कुखुरा तथा हाँस नष्ट गर्ने काम भएको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. केदार सेन्चुरीले काठमाडौमा बर्डफ्लु देखिएको पुष्टि गर्दै त्यसलाई नियन्त्रण गर्ने काम भएको जानकारी दिनुभयो ।
बर्डफ्लु देखिएपछि सरकारले बर्डफ्लु देखिएको क्षेत्रमा फर्म र आसपासका क्षेत्रमा हाँस कुखुरा नष्ट गरेको छ ।
‘पशु सेवा विभाग, तारकेश्वर नगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त प्रयासमा हामीले बर्डफ्लु नियन्त्रण गर्ने काम भइसकेको छ,’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख सेन्चुरीले भन्नुभयो,“मानिसमा सर्ने सम्भावना अत्यन्तै न्युन रहेकोले आत्तिनुपर्ने अवस्था छैन ।”
यसअघि पाँच वर्ष अघि पनि काठमाडाँै उपत्यकामा बर्डफ्लु देखिएको थियो । त्यसबेला सरकारले भक्तपुर, भैँसेपाटी लगायतका क्षेत्रमा फैलिएको बर्डफ्लुको कारण उपत्यकालाई बर्डफ्लु सङ्कटग्रस्त घोषणा गरेको थियो ।सरकारले नष्ट गरेका पन्छी बापत किसानलाई ७५ प्रतिशत सम्म क्षर्तिपूर्ति दिने गरेको छ ।
केहीदिन अघि चितवनमा देखिएको बर्डफ्लु अझै नियन्त्रणमा आउन सकेको छैन । चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौँका हाँसमा पनि बर्डफ्लु फेला परेको हो । उक्त क्षेत्रको तीन किलोमिटर सम्ममा रहेका कुखुरा, हाँसलगायत पक्षी र तीनका अन्डा तथा दाना नष्ट गर्नुपर्ने हुन्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बर्डफ्लु मानिसमा सर्दा धेरै छिटो लक्षणमा वृद्घि हुन्छ । मानिसमा बर्डफ्लुको सङ्क्रमण भएपछि आँखामा सङ्क्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेसीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा श्वासको गम्भीर रोगमा जस्तो छातीमा सङ्क्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्छन् । यसमा पखालासमेत देखिन सक्छ । बर्डफ्लुको कडा भाइरसले सङ्क्रमण गर्दा सास फेर्न नसक्ने, धेरै अङ्गले काम गर्न छोड्ने हुँदै बिरामीको मृत्युसम्म हुनसक्छ ।
बर्डफ्लुको सङ्क्रमण मुख्य रूपले सङ्क्रमित पक्षी र जिउँदो अथवा मरेका कुखुरा र हाँसलगायत, तिनको सुलीसँग निकट सम्पर्कले हुन्छ । यो सङ्क्रमण मानिसबाट मानिसमा दुर्लभ स्थितिमा सर्छ । सङ्क्रमित पक्षीको ¥याल, सिँगान, सुलीमा बर्डफ्लुको विषाणु रहने भएकोले यस्ता वस्तुलाई हत्तपत्ति छुन हुन्न र सङ्क्रमणको सम्भावना भएका वस्तु छोए तुरुन्त साबुनपानीले हात धुनुपने चिकित्सकको सुझाव रहेको छ ।
डा. पुनले बर्डफ्लुबाट बच्न बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने, पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, सुली नछुने, घरमा पालेको पक्षीको पिँजडा र भाँडाकुँडा दिनहु सफा गर्ने, मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने, काँचो वा आधा पाकेको मासु र अन्डा नखानाले रोगबाट बच्न सकिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्