विश्वकै अग्लो धान फल्ने स्थान जुम्लामा धान रोपियो

विश्वकै अग्लो धान फल्ने स्थान जुम्लामा धान रोपियो

नेत्र शाही

खलङ्गा, जेठ १३ गते । विश्वकै अग्लो धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिएपछि सर्वत्र चासो बढेको हो ।
यहाँ वि. सं. २०२१ सालदेखि रोपाइ सुरु गरिएको स्थानीय लक्षिराम बुढाले जानकारी दिनुभयो । उत्पादन कम भएका कारण रोपाइ गर्न छोडेका त्यहाँका नागरिकले करिब एक दशकपछि धान रोपाइलाई निरन्तरता दिँदै आएका छन् ।
तत्कालीन समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बीउ ल्याएर यस छुमचौर ज्युलोमा रोपाइ सुरु गरिएको स्थानीय बूढापाकाले बताएका छन् । अग्लो स्थानमा धेरै परिश्रम गर्नुपर्ने घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइको सिजन र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले केही वर्ष धान रोपिएको छ ।
पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बोहोराका अनुसारका अनुसार जेठमा धान रोप्ने र पाटनामा यार्सा सङ्कलन सिजन एउटै भएपछि धानबाली भन्दा यार्सा सङ्कलनबाट धेरै आम्दानी हुने भएपछि स्थानीयले विस्तारै धान रोपाइ छोड्दै गएको बताउनुभयो ।

उहाँले यसको महìवबारे स्थानीयमा बुझाइको कमी रहेकोले पनि यो खेती हराउँदै गएको तर बुझ्दै गएपछि अहिले दुई सय रोपनी जति धान रोपेको बताउनुभयो । कर्णाली कला केन्द्र जुम्ला र पातारासी गाउँपालिका कृषि शाखाको समन्वयमा छुमचौर ज्युलोमा लोपोन्मुख अवस्थामा रहेको कालीमार्सी धान रोपाइलाई प्राथमिकता दिइएको हो ।
यस पटक त्यहाँको पातारासी गाउँपालिकाको कृषि शाखाको सहयोगमा दुई क्विन्टन धानको बीउ वितरण गरी कालीमार्सी धान रोप्न सुरु गरिएको कृषि संयोजक लछिराम महतले बताउनुभयो । महतले भन्नुभयो, विश्वको अग्लो स्थान छुमचौर ज्युलोमा धान फल्ने कुराले संसारको ध्यान केन्द्रित गरेको छ । यो गुनिजबुकमा पनि रेकर्ड छ यहाँको धानखेती हराउँदै गएको अवस्थामा स्थानीय सरकारको समन्वयमा पुन सुरु गर्ने थालिएको हो ।
कसरी रोपिन्छ धान ?
धान रोपाइको अवसरमा बाजागाजासहित सहभागी महिलाले चुट्किला र मागल गाउँदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर धान रोप्ने गर्दछन् । पुरुषले हलो जोत्ने बीउ फाल्ने काम र महिलाले रोप्ने चलन रहेको छ । जुम्लामा रातो चामल कालीमार्सीलगायतका प्रजातिको धान रोपिने गर्दछ ।
जुम्लाको धानको चामल भने निकै पोषिलो मानिन्छ । तत्कालीन समयमा राजपरिवारदेखि ठूलाबडाले जुम्लाको कालीमार्सी धानको चामल खाने गरेको बताइएको छ । पछिल्लो समयमा पनि कालीमार्सीको माग निकै हुने गरेको छ । छुमचौरमा धान रोपाइ छोड्न नहुने यहाँका बुद्धिजीवी र युवाको चासो छ । कर्णाली कला केन्द्रका अध्यक्ष राजबहादुर शाहीले विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोलाई पर्यटकीय क्षेत्रको हब बनाउन सकिने बताउनुभयो ।
उहाँले यस क्षेत्रले विश्वको ध्यान केन्द्रित गर्न सकेको छ हाम्रो इतिहासलाई जोगाउनका लागि पनि पुरानै धानखेती गर्न आवश्यक छ । कोषाध्यक्ष माया पछाईले विश्वमा पर्यटकीय क्षेत्रलाई चिनाउने हामी सबै जुट्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्