विराटनगर, १४ जेठ - साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्विकारेका छन्, कान्तिपुर दैनिकमा खबर छ ।
अदालतले लिपिबद्ध गरेको ३७ पृष्ठको बयानमा उल्लेख छ– ‘मसमेत भई दुबईबाट नेपाल सुन भित्र्याउने गरेको तथ्यमा कुनै विवाद छैन, २०७४/१०/०९ गते भारतीय व्यापारीले मगाएको साढे ३३ किलो सुन हराएको कुरासमेत यथार्थ हो । हराएको सुन पत्ता लगाउनका लागि थाई एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ, छिरिङ गुरुङ र मेरा सहयोगीलाई समेत शंकाको घेरामा राखी मैले अनुसन्धान गरेको हुँ । सनम शाक्यलाई कसैले अपहरण गरेको छैन, उनलाई मार्ने उद्देश्यसमेत कसैको थिएन, घटना भवितव्यवश भयो । सनम मेरा मिलनसार र विश्वासिला मित्र थिए, मैले सनमलाई कर्तव्य गरी मारेको होइन ।’
हराएको सुन पत्ता लगाउने क्रममा फागुन १७ गते शाक्यलाई कुटपिट गर्दै सोधपुछ गरे पनि मार्ने नियत नभएको उनले बताएका छन् । टेकबहादुर मल्ल र शाक्यबीच मनमुटाव भएकाले उनैले करेन्ट लगाएको दाबी गोरेको छ । शाक्यलाई लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र मल्लले कर्तव्य गरी मारेको उनले बयानमा खुलाएका छन् ।
अनुसन्धानमा खटिएका सई बालकृष्ण सञ्जेललाई दुई वर्षअघि चिनेको र आफूले सुनको कारोबार गर्ने गरेको बताउँदा उनले त्यस्तो काम नगर्न सम्झाएको गोरेले बताएका छन् ।