प्रारम्भिक बालशिक्षा तथा बालविकास – रमाकान्त शर्मा

प्रारम्भिक बालशिक्षा तथा बालविकास – रमाकान्त शर्मा

रमाकान्त शर्मा

महाभारतको कथामा अभिमन्यु गर्भमा रहेको बेला उनका बाबु अर्जुनले आमा सुभद्रालाई चक्रब्यूह प्रवेश गर्ने र तोड्ने तरिका सम्बन्धमा सुनाउने कथाले पनि भन्छ– शिशु गर्भमा रहँदा आमाले सिकेका कुराले गर्भमा रहेको शिशुसमेतलाई प्रभाव पार्छ । आधुनिक अध्ययनहरूले यस कुरालाई साबित नगरे पनि गर्भवती अवस्थामा आमाको पोषणयुक्त खाना, आमाको संवेगात्मक अवस्था, शारीरिक व्यायामजस्ता कुराले जन्मने बच्चालाई प्रभाव पार्छ भन्ने प्रमाणित गरिसकेका छन् । जन्मपछि शिशु अवस्थामा गरिने हेरविचार, स्याहार, पोषणयुक्त खाना, गरिने व्यवहारले मानव जीवनको लागि घरलाई जगको जस्तो काम गर्छ ।
धेरै अध्ययनले शिशु अवस्थामा पाउने शारीरिक र सामाजिक वातावरणले गर्दा ब्रेन (मस्तिष्क) निर्माण तथा बौद्धिक विकासमा ठूलो प्रभाव पारेको हुन्छ भन्ने देखाएका छन् । प्रारम्भिक उमेरमा शारीरिक र बौद्धिक विकासको जग बसिसकेको हुन्छ भन्नेमा सबैको एउटै मत पाइन्छ । युवा वा प्रौढ अवस्थामा त बनेको आधारलाई प्रयोग मात्र गर्ने हो । अतः शिशु अवस्थामा उपयुक्त शारीरिक विकास, बौद्धिक विकास, सामाजिक र संवेज्ञात्मक विकासका लागि आमाबाबु, अभिभावक, समाज र राज्यले समेत ध्यान दिनु आवश्यक छ ।

नेपाली समाजमा कतिपय महŒवपूर्ण कुरा छायाँमा परेका छन् । गरिबी, बालबालिकालाई हेर्ने दृष्टिकोण, कुरीति, सामाजिक परम्पराले बालबालिकाको उपयुक्त शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक विकासमा सहयोग हुने वातावरण दिन सकिएको छैन । यसैले हाम्रो समाजका धेरै बालबालिकाको बौद्धिक र सिर्जनात्मक क्षमता पर्याप्त मात्रामा विकास हुन सकेको छैन ।
हाम्रो समाजमा अझै पनि धेरै जनसङ्ख्या गरिबीको जाँतोमा पिसिनु परेको छ । गरिबी र चेतनाको कमीले जन्मने बच्चा ख्याउटे, कुपोषित हुने गरेको र जन्मपश्चात् पनि सामान्य शिशुको रूपमा वा औसत शिशुको रूपमा विकास हुन नसकेको अवस्था विद्यमान छ । 
परिवारले घरमा उपयुक्त वातावरण दिन नसक्ने अवस्थामा प्रारम्भिक बालविकास केन्द्र तथा बालशिक्षाको महŒवपूर्ण स्थान हुन्छ । समाज तथा राज्यको सहयोगमा तालिम प्राप्त सहजकर्ता र उपयुक्त वातावरणसहितका बालविकास केन्द्र स्थापना गर्न सकेमा पनि परिवारमा भएको अभावलाई केही मात्रामा परिपूर्ति गर्न सकिन्छ । हाम्रोमा बालशिक्षा तथा प्रारम्भिक बालविकास केन्द्रलाई जति महŒव दिनुपर्ने हो त्यति महìव नदिएको अवस्था छ ।

शिक्षा नियमावलीमा प्रारम्भिक बालविकास केन्द्र तथा शिक्षा दिने संस्थाको अनुमति स्थानीय तहले दिने व्यवस्था छ । ती संस्थालाई अनुदान जिल्ला शिक्षा कार्यालयमार्फत सरकारले दिने गरेको थियो । कतिपय बालविकास केन्द्र आवश्यकताको आधारमा भन्दा पनि एक जनालाई रोजगार मिल्छ भन्ने मन सायले पनि खोलिएका छन् । जन्माउने एउटा र बचाउने अर्कोे संस्था भएको कारणले पनि बालविकास केन्द्रले जुन रूपमा महŒव पाउनुपर्ने हो, त्यति महŒव पाउन सकेको देखिन्न ।

शुरुमा समुदायमा आधारित बालविकास केन्द्र खोलिएका थिए । समुदायको सहयोगमा त्यस्ता बालविकास केन्द्रले राम्रो सहयोग र वातावरणसमेत पाएका थिए । पछि त्यस्ता केन्द्रलाई नजिकको विद्यालयमा जिम्मा दिइयो र मातृ विद्यालय तोकियो । विद्यालयमा आधारित केन्द्रले सबैभन्दा राम्रो, उज्यालो, न्यानो कोठा बालविकासका लागि छुट्याउनुपर्नेमा सबैभन्दा नराम्रो, धूलो, फर्निचर नभएको, भत्केको, अव्यवस्थित कक्षाकोठा छुट्याए । ठूला विद्यार्थीले कराउन सक्ने, माग राख्न सक्ने तर साना बालबालिकाले नसक्ने हुनाले पनि सबैले छाडेका कक्षाकोठा बालविकास केन्द्रलाई भए ।

हाल केही बालविकास केन्द्र समुदाय, समाजसेवी, दातासमेतको सहयोगमा नमुना रूपमा पनि स्थापित छन् । अधिकांश केन्द्रहरू बालविकासको मर्मअनुसार हुन सकेका छैनन् । बालविकास केन्द्रलाई स्थानीय समुदाय र सरकारको सहकार्यमा स्थापना र सञ्चालन गर्ने अवधारणा ल्याइएको भए पनि सफल हुन सकेन, सरकारका मात्र जस्ता हुन पुगे ।

तलब भत्ता निकै न्यून भएकोले पनि सहजकर्ता तथा शिक्षकमा उत्साह जगाउन सकिएन, बरु भएको उत्साह मरेर गयो । अधिकांश विद्यालयले सबैभन्दा कमजोर र योग्यता नपुगेका शिक्षकलाई बालविकास केन्द्रको जिम्मा लगाए । राम्रा र योग्यता पुगेका शिक्षक बालविकासका लागि नियुक्त भएमा माथिल्लो कक्षामा पढाउन लगाउने र कमजोर शिक्षकलाई बालविकास कक्षा जिम्मा लगाउने कार्य भएको पनि भेटियो ।

यसको अवधारणा स्पष्ट गर्न नसकिएको हुनाले अभिभावकले बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने क्रियाकलाभन्दा अन्य कक्षामा जस्तो पढाइलाई महŒव दिइयोस् भन्ने चाहन्छन् । उमेरगत अवधारणा पनि स्पष्ट हुन सकको छैन । कतिपय विद्यालयले शुरुमा भर्ना भएको बालबालिकालाई छ वर्ष उमेर पुगेको भए पनि बालविकास कक्षामा राख्ने गरेको पनि पाइन्छ । सरकारको यससम्बन्धी नीतिगत स्पष्टता अझैसम्म हुन सकेको छैन । संस्थागत विद्यालयमा सञ्चालन भएका कक्षा अन्य कक्षासरह नै सञ्चालन गरेको पाइन्छ । सरकारी, निजीक्षेत्र र विभिन्न सङ्घ–संस्थाबाट सञ्चालित कार्यक्रममा एकरूपता छैन । समुदायले सञ्चालन गरेका बालविकास केन्द्रमा पनि अपनत्व र दिगो विकासका लागि योजनाको कमी छ । अभिभावकमा यसको मर्म सम्बन्धमा चेतनाको कमी छ । समुदाय परिचालन प्रभावकारी रूपमा हुन सकेको छैन । अवधारणाअनुसार भौतिक पूर्वाधार र बालमैत्री वातावरणको निर्माण हुन सकेको छैन । बालविकास केन्द्र सञ्चालनका लागि समितिको व्यवस्था भए पनि सक्रिय भूमिका हुन सकेको छैन । सहजकर्तालाई पारिश्रमिक ज्यादै न्यून भएको र पर्याप्त तालिम दिन नसकिएको हुनाले उत्प्रेरणा जगाउन सकिएको छैन ।

जिम्मेवारी किटान हुन नसक्नाले अनुगमन, मूल्याङ्कन प्रणाली प्रभावकारी हुन सकेको छैन । स्थानीय तहलाई प्रारम्भिक बालविकास कार्यक्रमको मर्म बोध गराउन सकिएको छैन ।
बालविकास केन्द्र तथा प्रारम्भिक बालशिक्षालाई प्रभावकारी पार्न सकेमा समाजमा रहेको आर्थिक असमानताले बालबालिकामा पार्ने प्रभाव कम गर्न सकिन्छ । गरिब र धनी सबै किसिमाका आमाबाबुका बालबालिकालाई एकै किसिमका केन्द्रमा हुर्काउन सकेमा समाजमा असमानता घटाउन र समतामूलक समाज निर्माण गर्न टेवा पुग्छ । यस्ता केन्द्रमा पोषणयुक्त खाना र खाजाको व्यवस्था भएमा गरिब परिवारको बच्चाको पनि उपयुक्त शारीरिक विकास हुने सम्भावना रहन्छ । न्यूनतम भौतिक अवस्था, कक्षा कोठा, शौचालय, खेल्ने स्थान, पूmलबारी आदिको व्यवस्थासहितको स्पष्ट मापदण्ड निर्माण गरी अभिमुखीकरण गर्न सकेमा बालविकास केन्द्रमा एकरूपता ल्याउन सहज हुन्छ । यस्ता केन्द्रलाई राम्रो पार्न पोषणयुक्त खाजाको व्यवस्था, सिकाइ कुना, बालबालिकाको स्वभाव, रुचिअनुसारका सामग्रीको व्यवस्था गरिनु आवश्यक छ । बालबालिकाहरू कक्षामा आउँदा कस्तो अवस्थामा थिए ? शारीरिक, संवेगात्मक, बौद्धिक, सामाजिक विकास कसरी हुँदैछ ? कस्ता कुरामा रुचि देखाउँदै छन् ? दैनिक, साप्ताहिक, मासिक वार्षिक योजना र प्रगति देखिने गरी बालबालिकाको प्रोफाइल तथा अभिलेख व्यवस्थित रूपमा राखिनु पनि अति नै आवश्यक छ । समय–समयमा स्वास्थ्य परीक्षणको व्यवस्था, पाठ्यक्रम र योजनाका आधारमा क्रियाकलाप गर्न सक्ने योग्यता पुगेका सहयोगी कार्यकर्ता तथा शिक्षकको व्यवस्था गर्नु पनि त्यतिकै महŒवपूर्ण छ ।

समाजका बालबालिकाको प्रारम्भिक अवस्थामा उपयुक्त शारीरिक, सामाजिक, बौद्धिक र संवेगात्मक विकास हुने वातावरण मिलाउन सकेमा भोलिको समाज उन्नत हुने र देशलाई समृद्ध बनाउन सहयोग पुग्ने कुरामा शङ्का छैन । अतः यसतर्फ स्थानीय तहदेखि सङ्घीय सरकारले ध्यान दिन र पर्याप्त बजेट छुट्याउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्