म्याग्दी, २४ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो ।
बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उहाँले बताउनुभयो । “हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्याँ तर केही पनि पत्ता लाग्न सकेन,”– बुढाले भन्नुभयो । हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ ।
खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमान्समेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् ।
घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्किएपछि मोबाइल फोनसमेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाइ छ ।