कक्षा ११ को नयाँ पाठ्यक्रम बन्दै, यसै शैक्षिक सत्रबाट लागु हुने

कक्षा ११ को नयाँ पाठ्यक्रम बन्दै, यसै शैक्षिक सत्रबाट लागु हुने

काठमाडौं जेठ २९ । आगामी साउन दोस्रो हप्ताबाट कक्षा ११ को पठनपाठन सुरु हुने भए पनि त्यसका लागि नयाँ पाठ्यक्रम छपाइको कार्य भने अझै सुरु भएको छैन । सरकारले यस वर्षको शैक्षिक सत्रदेखि लागु हुनेगरी कक्षा ११ को पाठ्यक्रम परिमार्जन गरेको छ ।

अब कक्षा ११ का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्नेछन् । पाठ्यक्रम तयार गर्ने काम भइरहेको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले अहिले पाठ्यक्रम बनिरहेको र कहिलेदेखि लागु गर्ने भनेर छलफल भइरहेको बताए ।

“हामी आफ्नो तर्फबाट तयारीमै जुटेका छौं । कक्षा ११ र १२ मा अनिवार्य र ऐच्छिक गरी झण्डै १६० वटा विषयहरु छन् । पहिलो फेजमा हामी अनिवार्य विषयहरु र दोस्रो फेजमा एेिच्छक विषयहरुको पाठ्यक्रम विकासको काम गर्छौंं,” उनले भने । कतिपय विषयहरु पुरानो पाठ्यक्रम भइसकेकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले विद्यार्थीलाई नविनतम ज्ञान र सीपमा अभ्यास गराउनेगरी पाठ्यक्रम बनाइने बताए ।

कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि पाठ्यक्रम विकास केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । केन्द्रले तयार पारेको विद्यालयक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार नै देशभरका सामुदायिक र निजी विद्यालयमा पठनपाठन हुनेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम छपाइका लागि पाठ्यक्रमको पीआरसी (प्रुफ रेडी कपी) बनिनसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । पीआरसी बनाएर केन्द्रले असार अन्तिम साता जनक शिक्षालाई दिने र साउन १५ गतेसम्ममा जनकले छापेर जिल्ला–जिल्लामा पुर्याउने बताइएको छ । सामग्री पाएको १५ देखि २० दिनभित्र छपाइ कार्य सकेर सबै ठाउँमा पुर्याउने जनक शिक्षाले जनाएको छ ।

१८ वर्षपछि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन हुन लागेको हो । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्ले ०५५ सालमा पाठ्यक्रम तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्