ताप्लेजुङ, असार १ । ताप्लेजुङमा गएराति विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।
फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवा बीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परि ईलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।
मोटरसाईकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीसँगै मोटरसाईकलको पछाडी सवार खड्क विक भने हामफालेर बाँच्न सफल भएका थिए ।
मोटरसाईकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम बेपत्ता रहेको बताईएको छ । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
दुवैजना हाङ्देवास्थित जनता माविमा विश्वकप हेर्न बनाईएको हलमा पुगेर खेल हेरि सकेपछि सदरमुकामतर्फ फर्कदै थिए ।
यस्तै गएराति जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले ग्रामिण सडक लगायतमा क्षति पुगेको बताईएको छ । यता उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्ग सडक खण्डमा समेत पहिरोले क्षति पुगेको छ ।
कतै सडक नै झरेको र कतै माथिबाट आएको पहिरोले सडक पुरेको बताईएको छ । यस सडक खण्डमा यातायात नै चल्न नसक्ने अवस्था रहेको फुङलिङ नगरपालिका–१० का वडा अध्यक्ष गमबहादुर फुरुम्बुले जानकारी दिए ।
गएराति ताप्लेजुङमा मुसलधारे वर्षा भएको थियो । शुक्रबार बिहानबाट भने वर्षा रोकिएको छ ।