साइवर अपराधमा महिला नै बढी पीडित , यस्ता हुन सक्छन अपराध !!

साइवर अपराधमा महिला नै बढी पीडित , यस्ता हुन सक्छन अपराध !!

सविता शर्मा

काठमाडौँ, असार २ गते । सामाजिक सञ्जालको प्रयोगसँगै किशोरी पीडित हुने गरेका छन् । प्रविधिको प्रयोगसँगै हुने अपराधमा पनि लैङ्गिकरुपमा महिला नै बढी पीडित देखिएका छन् ।  एकजना १९ वर्षको केटाले १७ वर्षीय केटीलाई थाहै नदिई सिन्दुर लगाएर फोटो खिचेछ । केटीले आफ्नो प्रस्ताव स्वीकार नगरेपछि केटीकै नाम र फोटो राखेर फेसबुक खोली केटीका आफन्त र साथीलाई फेसबुकमा साथी बनाएर बिहे गरेको फोटो वालमा पोष्ट गरिदियो । त्यसकै कारणले केटी र केटीको परिवारलाई ठूलो समस्या प¥यो । सामजिकरूपमा नभएको बिहे भयो भनेर फैलियो ।
कतै केही पोष्ट र म्यासेज भएकै कारण कसैको जीवन बर्बादसम्म भएको छ । कति युवा यसकै कारण डिप्रेसनदेखि आत्महत्यासम्म पुगेका छन् ।
महानगरीय प्रहरी परिसर साइवर अपराध सेलका प्रहरी निरीक्षक प्रदिन ताम्राकारले विशेषगरी विद्युतीय( साइबर) अपराधमा किशोरीहरु बढी पीडित हुने गरेको उल्लेख गर्दै भन्नुभयो,“पीडितमध्ये ८० प्रतिशत महिला अझ त्यसमा पनि किशोरी बढी पीडित हुने गरेका छन् ।”

एउटाको टाउकोमा अर्काको जिउ जोडिदिने अझ नग्न शरीरमा टाउको जोडेर युवतीलाई ब्ल्याकमेल गर्ने गरिन्छ । यसो गरेर उनीहरूलाई नग्न तस्बिर खिचेर पठाउन बाध्य पार्ने र सक्कली नग्न तस्बिर पाएपछि झन् बढी दुःख दिने काम भइरहेको चर्चा गर्दै ताम्राकारले भन्नुभयो,“टिनएजरलाई दुःख दिने प्रवृत्ति बढी देखिएको छ ।” कतिपयलाई नग्नरुपमा भिडियो कल गर्न लगाएर रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गरिदिन्छु भन्दै पटक पटक पैसा असुल्ने काम पनि हुने गरेको छ ।
बिदेशबाट पनि यस्ता क्रियाकलाप हुने गरेको छन् । बङ्गलादेशी र फिलिपिन्स नागरिकहरुले नेपाली केटाहरूलाई दुःख दिएका धेरै घटना भएको उल्लेख गर्दै अधिकांश ब्ल्याकमेल पैसासँग जोडिएका बताउनुभयो । कसैले यसरी सतायो भने उसले जे भन्छ त्यही मान्नुभन्दा पनि समयमै प्रहरीलाई खबर गर्न सकेमा आफू थप तनावमा पर्नुपर्दैन र अपराधीले सजाय पाउन सक्छ ।
नक्कली आईडी खोलेर म्यासेज पठाउने, गाली गर्ने, पेशा र व्यावसायिक जीवनमै दाग लाग्ने गरी बेइज्जत गर्ने खालका प्रवृत्ति बढी देखिने गरेको ताम्राकार बताउनुहुन्छ । कतिपय गाली सामान्य खालका पनि हुन्छन् भने कतिपय कसैको जीवन वर्वादीको कारण बन्छन् ।
सबैभन्दा ठूलो समस्या फेक आईडी हो । अधिकांश केटीहरुलाई उनीहरुकै फोटो राखेर उनीहरुको सबै सही सूचना राखेर फेसबुक आईडी बनाउने र उनीहरूका आफन्त साथीभाईसँग च्याट गर्ने विस्तारै यस्तो समस्या प¥यो उस्तो समस्या प¥यो यति पैसा दिनु भनेर पैसा माग्ने, बार्गेनिङ गर्ने । विभिन्न क्रियाकलापका लागि फेसबुक प्रयोग गर्ने सम्बन्धित व्यक्तिलाई पनि ब्ल्याकमेल गर्ने लगायतका कामहरु भइरहेको अनुभव सुनाउँदै ताम्राकारले भन्नुभयो,“धेरैलाई पक्राउ गरेर कारबाही गरिरहेका छौं ।”
युवा समस्याको पहिचानका क्षेत्रमा क्रियाशील विष्णु खत्री भन्नुहुन्छ,“साइबर अपराधका कारण धेरै युवाले दुःख पाएका छन् त्यसमा पनि केटीहरु अझ बढी पीडित भएका छन् । हाम्रो सामाजिक संरचना र साइबर अपराधका कारण यस्तो हुन्छ भन्ने बारेमा धेरै मान्छेले बुझेका पनि छैनन् । कतिपय युवा साइवर अपराधका कारण आत्महत्यासम्म पुगेका छन् । यो दुःखद कुरा हो । ’
उहाँका अनुसार यस्तो प्रवृत्तिमा अभिभावक लगायत सबै सचेत रहनुपर्छ । ‘आफ्ना नितान्त व्यक्तिगत कुरा जतिसुकै विश्वासिलो मान्छेलाई पनि भनिहाल्नु हुँदैन, भोलि त्यही अभिशाप हुनसक्छ ,’ उहाँको भनाइ छ ।
पहिले मान्छेलाई कसैसँग चित्त बुझेन आक्रोश भयो भने पनि मनमनै मरमुरिनुको विकल्प थिएन तर अहिले चित्त नबुझेको कुरा पोख्ने थलोका रूपमा सामाजिक सञ्जालले साथ दिएको छ । सामान्य खालका गाली बेइज्जती विशेष गरी नेताहरूप्रति हुने गरेको छ । यसको प्रयोग गरेर गाली बेइज्जती गर्ने म्यासेज पठाउनेसम्मको काम हुने गरेको पनि ताम्राकारले जानकारी दिनुभयो । साइबर अपराधमा फेसबुक र फेसबुक मेसेन्जरको प्रयोग सबैभन्दा बढी हुने गरेको छ ।
पछिल्लो समय आफ्नो विषयमा नराम्रो समााचार लेखिदिएमा पत्रकारहरुलाई पनि फेसबुकमार्फत् गाली गलौज गर्ने, उनीहरुको बेइज्जत गर्ने गरी धेरै कुरा लेखेर ट्याग गरिदिने लगायतको प्रवृत्ति पनि देखिएको ताम्राकारले बताउनुभयो ।
प्रेमी प्रेमिकाका बीचमा पनि सम्बन्ध सुमधुर भएको बेलामा भएका विभिन्न क्रियाकलाप रेकर्ड गर्ने, इमेला फेसबुकका पासवर्ड साटासाट गर्ने सम्बन्ध बिग्रिएपछि त्यही रेकर्ड सार्वजनिक गर्छु भन्दै सताउने बार्गेनिङ गर्ने प्रवृत्ति पनि देखिएको छ । भनेको जस्तो भएन भने वालमा पोष्ट गरिदिने लगायतका काम भइरहेका छन् ।
प्रहरी निरीक्षक ताम्राकमार सुझाव दिनुहुन्छ,‘फेसबुक र इमेलमा आउने कतिपय लिंकबाट पनि पासवर्ड चोरी हुनसक्ने भएकाले यस्ता लिंकहरु नखोल्न, नितान्त व्यक्तिगत कुरा, तस्बिर पासवर्डहरू कसैसँग साटासाट नगर्न सुझाव दिनुहुन्छ ।’ धेरै मुद्दा प्रहरीले एकपटक फोन गर्दा मिलापत्रमै सल्टिने गरेका छन् । कतिपय मुद्दालाई प्रहरीले नै काउन्सिलिङ संस्थाहरूमा पठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्