घरायसी काममा अहिलेको वर्षाको पानी प्रयोग नगर्न आग्रह ,हिले वर्षा अझै केही दिन पर्न सक्ने

घरायसी काममा अहिलेको वर्षाको पानी प्रयोग नगर्न आग्रह ,हिले वर्षा अझै केही दिन पर्न सक्ने

भउचप्रसाद यादव

काठमाडौँ, असार ३ गते । शुक्रवार रातिदेखि हिले वर्षा भएको छ । धूलोको कणका कारण वर्षाको पानी हिलो तथा पहेँलो रङको देखिएकाले सर्वसाधारण आत्तिएका छन् । मौसमविद्हरूले भने धूलोका कण पानीमा मिसिएर यस्तो वर्षा भएको भन्दै नआत्तिन आग्रह गरेका छन् ।
मौसमविद्हरुले घरायसी काममा अहिलेको वर्षाको पानी प्रयोग नगर्न समेत सचेत गराएका छन् । जल तथा मौसम विज्ञान विभागले समेत मनसुन सक्रिय नभएसम्म वर्षाको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आह्वान गरेका हुन् ।
जलवायुविद् विनोद पराजुलीले भारतीय मरुभूमिका धूलोका कणसहित अरब सागर र भूमध्य सागरबाट तीब्र गतिमा आएको हावा नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हुनाले शुक्रबारदेखि हिले र पहेँलो वर्षा ९डस्ट स्ट्रोम० सुरु भएको बताउनुभयो । यस्तो वर्षा अझै दुई तीनदिन पर्न सक्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
नेपालमा सन् १९४० को दशकमा मौसम मापन सुरु भएको हो । यो बेलादेखि अहिलेसम्म पहिलो पटक वर्षाको पानीमा यति मात्रामा धूलोको कण देखिएको जलवायुविद् पराजुलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनसुन सुरु भइसकेपछि बङ्गालको खाडी हुँदै पूर्वी भूभाग भएर ९साउथ–वेष्ट मनसुन० हावा नेपाल प्रवेश गर्दछ तर बङ्गालको खाडी नभएर मरुभूमिका धूलोका कणसहित अरब सागर र भूमध्य सागरबाट तीब्र गतिमा आएको हावा नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हुनाले हिले वर्षा सुरु भएको हो ।
मरुभूमिमा रहेको रातो, पहेँलोलगायत विभिन्न रङका धूलोको कण हावामा मिसिएका कारण अहिले वर्षाको पानी पहेँलो देखिएको उहाँले स्पष्ट पार्नुभयो । पश्चिमी हावाको प्रवेश कमजोर तथा दक्षिण पूर्वी मनसुनी हावा ९साउथ–वेष्ट मनसुन० को प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने उहाँले बताउनुभयो ।
खासगरी मनसुन पूर्वबाट नेपाल प्रवेश गर्नुपर्ने हो तर यस पटक पूर्वतिरको मौसम कमजोर देखिएको हुनाले पश्चिमबाट नेपालमा प्रवेश गर्दा हावामा धूलोको कण मिसिँदा हिलो पानी परेको उहाँले स्पष्ट पार्नुभयो । यो वर्षा भारतको हिमाञ्चल प्रदेश, उत्तर प्रदेश, विहार, दिल्ली, पश्चिम वङ्गालसहित नेपालको तराई क्षेत्र र तल्लो पहाडमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको हिमाली भूभागमा भने यो पानी परेको छैन ।

प्रयोग नगर्न आग्रह
सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनले यसप्रकारको वर्षाको पानीमा अम्लीय पदार्थ (एसिड) मिसिएको हुन सक्ने भएको हुनाले अहिलेको वर्षाको पानीको प्रयोग नगर्न सबैसँग आग्रह गर्नुभएको छ । यस प्रकारको पानीको प्रयोगले मानव र पशुपंक्षीमा गम्भीर समस्याहरु ल्याउन सक्ने उहाँले जानकारी दिनुभयो ।
अन्य मुलुकमा यसप्रकारको वर्षाले मानिसमा छाला र आँखाको समस्या अत्यधिक मात्रामा देखिएको तथा मुटु रोगी, दमको समस्या तथा फोक्सोको समस्या भएका विरामीलाई थप असर गरेको पाइएको उहाँले बताउनुभयो ।
यस प्रकारको वर्षा नेपालको सन्दर्भमा नौलो भएको तथा यस वर्षामा अरब सागर र भूमध्य सागरको धूलोको कण मिसिएको बताइएको हुनाले यस वर्षामा के कस्ता रसायन तथा जीवाणु मिसिएका छन् भन्ने पत्तालगाउन छिटोभन्दा छिटो यसको परीक्षण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्