प्रम ओलीबाट चीन भ्रमणबारे आज सदनलाई जानकारी गराइने

प्रम ओलीबाट चीन भ्रमणबारे आज सदनलाई जानकारी गराइने

काठमाडौँ, असार ४ गते । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई सोमबार जानकारी दिनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नुभएको छ । प्रधानमन्त्रीले दुबै सदनमा छुट्टाछुट्टै जानकारी दिनुहुनेछ ।  राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संसद् अधिवेशन चलिरहेको अवस्थामा सरकारको सदनप्रतिको जवाफदेहीताका लागि भ्रमणबारे प्रधानमन्त्री वा मन्त्रीले जानकारी दिने प्रचलन छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रधानमन्त्रीले बक्तव्य दिने समय तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रतिनिधिसभाको अपराह्न ४ बजेको बैठकलाई सम्बोधन गर्ने जानकारी उहाँले दिनुभयो । यस्तै, राष्ट्रियसभामा भने दिउँसो २ बजे नै सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यसूचीबारे औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन । प्रधानमन्त्रीले सदनबाटै औपचारिक रुपमा कार्यसूची सार्वजनिक गर्ने जनाइएको छ ।
यसअघि भारत भ्रमणपछि प्रधानमन्त्रीले सदनलाई भ्रमणबारे जानकारी गराउनुभएको थियो । भ्रमणमा जानुअघि भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी दिनुभएको थियो । चीन भ्रमणबारे भने प्रधानमन्त्री स्वयंमले जानकारी दिन लाग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्