धादिङ, १४ असार । पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् ।
धादिङको खनियाबास गाँउपालिका–५ मा रहेको सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमती ३६ वर्षकी बसोधा, ५ वर्षीया छोरी सरस्वती र १० वर्षीया छोरी लक्ष्मीको ज्यान गएको छ ।
गोलेका छोरा विकास घाइते भएका र उनको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरो आए पछि गोलेले भने भागेर ज्यान जोगाउनु भएको हो ।
यस्तै, धादिङकै खनीयावास गाउँपालिका वडा नम्बर ४ चिउरीबोटमा पनि पहिरोले घर पुर्दा शम्शेर घलेको ज्यान गएको छ । उहाँको श्रीमती कोप्ची घले हराइरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, धादिङको नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ ।