झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु

झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु

रवीन भट्टराई

झापा, असार १५ । यस वर्ष समयमै वर्षा हुँदा झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु भएको छ ।

विगतका तुलनामा समयमै पर्याप्त वर्षा भएकोले असारको पहिलो हप्ताबाटै रोपाइँको चटारो सुरु भएको हो । समयमै रोपाइ भएपछि धान उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।

अघिल्ला वर्षहरुमा पर्याप्त वर्षा नहुँदा रोपाइ ढिलो हुने भए पनि यो वर्ष भने झापालगायतका पूर्वी जिल्लामा असार पहिलो साताबाटै रोपाईको चटारो सुरु भइसकेको छ । धान रोपाइँमै व्यस्त भएका अधिकांश किसान निकै उत्साहित भएका छन् ।

झापामा धान खेती गरिने ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । यो वर्ष समयमै रोपाइँ सुरु भएकोले बाढी र डुवानको समस्या नभए धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश कुमार डाँगी बताउँछन् ।

विगतमा समयमा वर्षा नभएपछि धान रोपाई साउन महिनासम्म चल्थ्यो तर अहिले भने रोपाई असारभित्रै सकिने देखिएको छ । धान रोप्ने समयमा कामदार अभाव भए पनि कृषकले आधुनिक उपकरणबाट खेती गरिरहेकाले खेती गर्न समस्या नभएको प्रमुख डाँगी बताउँछन् ।

पर्याप्त वर्षा र कृषि उपकरणको उपलब्धताका कारण अधिकांश किसानले उन्नत जातका धान रोपेका छन् । पर्याप्त पानी भएकोले अधिकांश किसानहरुले धानको उत्पादन वृद्धि हुने आशामा हर्षित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्