फ्रान्स विरुद्ध अर्जेन्टिनाको अनुभव : कसले मार्ला बाजी ?

<span class='c1'>फ्रान्स विरुद्ध अर्जेन्टिनाको अनुभव :</span> <span class='c2'>कसले मार्ला बाजी ?</span>

काठमाडौं, १६ असार – विश्वकप फूटबल प्रतियोगिताको पहिलो नकआउट खेलमा आज साबिकको उपविजेता अर्जेन्टिना र फ्रान्स आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।फ्रान्स ‘समूह सी’को विजेता र अर्जेन्टिना ‘समूह डी’को उपविजेताको रूपमा अन्तिम १६ मा पुगेका हुन् । जारी प्रतियोगितामा अर्जेन्टिना खासै लयमा देखिएको छैन ।

समूह चरणबाटै बाहिरिने खतरामा परेको टीम अन्य खेलको नतिजासमेत आफू अनुकूल आएपछि नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा उसले क्रोएसियासँग ३–० को हार बेहोर्दा आइसल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

अर्कोतर्फ फ्रान्सले समूहमा अर्जेन्टिनाभन्दा राम्रो खेल देखाए पनि उसको प्रदर्शन अपेक्षित भने छैन । अस्ट्रेलियासँग २–१ र पेरुसँग १–० को झिनो जीत दर्ता गरेको फ्रान्स डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
अनुभव भर्सेस युवा जोश !

फ्रान्स र अर्जेन्टिना मैदानमा उत्रिँदा अनुभव र युवा जोशबीच भिडन्त हुनेछ । अर्जेन्टिनाको लाइनअपमा अधिकांश खेलाडी अघिल्लो विश्वकपको फाइनल खेलेका हुनेछन् ।

कप्तान लियोनल मेस्सी, स्ट्राइकरद्वय सर्जियो एग्युरो र गोञ्जालो हिगुइन, एञ्जल डी मारिया, ह्यभियर मस्केरानो, इभर बनेगा, लुकास बिग्लिया, मार्कोस रोहोलगायत अघिकांश खेलाडीले अघिल्लो विश्वकप खेलेका छन् ।
अर्कोतर्फ वर्तमान फ्रान्सको टीममा काइलियन एमबाप्पे, उस्मान डेम्बेलेजस्ता युवा प्रतिभाको प्रभाव छ । उनीहरूको गति अर्जेन्टिनाका लागि चिन्ताको विषय बन्नसक्छ ।

फ्रान्सेली टीममा एन्टोइन ग्रीजम्यान, ओलिभर जिरुड, पउल पोग्बा, ह्युगो लोरिसजस्ता अनुभवी खेलाडी पनि छन् । युवा र अनुभवी खेलाडीको सम्मिश्रण अर्जेन्टिनाका लागि चुनौती बन्नसक्छ ।

अर्जेन्टिनातर्फ भने नयाँ खेलाडीले खासै प्रभाव देखाउन सकेका छैनन् । विंगरको भूमिकामा खेल्ने पाभोनले केही प्रभाव पार्नसक्ने देखिन्छ । मेजाले पनि औसत प्रदर्शन गरेका छन् । लो सेल्सोले मौका नै पाएका छैनन् ।

इतिहासमा अर्जेन्टिना भारी !

फ्रन्स र अर्जेन्टिनाबीचको इतिहास भने अर्जेन्टिनाको पक्षमा छ । मैत्रीपूर्णसहित हालसम्म भएको ११ भेटमा अर्जेन्टिनाले ६ पटक बाजी मारेको छ । तीनपटक खेल बराबरीमा टुंगिदा २ खेल मात्र फ्रान्सले जितेको छ ।
यी दुई टीमबीच पछिल्लो भेट सन २००९ मा मैत्रीपूर्ण खेलमा भएको थियो । त्यतिबेला अर्जेन्टिना २–० ले विजयी भयो । त्यसको २ वर्षअघि भएको भेटमा पनि अर्जेन्टिनाले १–० ले खेल जितेको थियो ।

हेर्नलायक खेलाडी

लियोनल मेस्सी, अर्जेन्टिना

अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता (६५) एवं कप्तान लियोनल मेस्सी यस खेलमा सबैभन्दा आकर्षणको केन्द्र बन्नेछन् । यद्यपि जारी प्रतियोगितामा मेस्सीले आफ्नो वास्तविक खेल देखाउन सकेका छैनन् ।

पहिलो खेलमा आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेका मेस्सी दोस्रो खेलमा गोलविहीन रहे । नाइजेरियाविरुद्ध उत्कृष्ट गोल गरेपछि भने मेस्सी लयमा आएको विश्वास गरिएको छ । सो खेलमा मेस्सीको प्रदर्शन प्रभावशाली थियो ।

अर्जेन्टिनाको टीम मेस्सीमा नै धेरै हदसम्म निर्भर रहनेछ ।

काइलियन एमबाप्पे, फ्रान्स

फ्रान्सका तर्फबाट भने काइलियन एमबाप्पे अर्जेन्टिनाका लागि ठूलो चुनौती बन्न सक्छन् । १९ वर्षको उमेरमा नै उनले जारी विश्वकपमा गोल गरिसकेका छन् ।

घरेलु टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यावसायिक फूटबल खेल्ने एमबाप्पेको गति र सटीक प्रहार अर्जेन्टिनाका लागि चिन्ताको विषय बन्नसक्छ । जबकि अर्जेन्टिनाको डिफेन्समा केही कमजोरी रहेको यसअघि नै देखिइसकेको छ ।

अझै विपक्षीको काउन्टर अट्याकमा अर्जेन्टिनाले थप क्षति बेहोर्न सक्छ, फ्रान्सको तर्फबाट काउन्टर अट्याकको नेतृत्व सम्भवतः यिनै एमबाप्पेले गर्नेछन् ।

क्वार्टरफाइनल भिडन्त उरुग्वे वा पोर्चुगलसँग

यी दुई टोलीमध्येको विजेताले क्वार्टरफाइनलमा उरुग्वे र पोर्चुगलमध्ये एक प्रतिद्वन्द्वी पाउनेछ । उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै राति पौने १२ बजे हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्