नेपालका तीन वटा नदी हिमालपारिबाट आउँछन् । अरूण, भोटे कोशी र कर्णाली यी तीनवटै नदीको उद्गमस्थान तिब्बत हो । भोटेकोशी न्यालम (कुती)तिरबाट सिन्धुपाल्चोक हूँदै झर्छ । कर्णालीको मुहान मानसरोवर र राक्षस ताल हो । अरूण नदी तिब्बतको ग्याचोला पाशबाट खार्पा उपत्यका हुँदै सङखुवासभा जिल्लामा अवतरण हुन्छ । पाश भनेको भञ्ज्याङ हो, त्यसैले अरूण नदीको उद्गम स्थान ग्याचोला भञ्ज्याङ हो भनेर बुझे हुन्छ । तिब्बतमा अरूण नदीलाई टिङ्ग्री भनिने रहेछ ।
अरूण नदी त्यही नदी हो जहाँबाट २–४ हजार मेगावाट विद्युत उत्पादन हुन सक्छ । त्यसैले झण्डै वीस वर्षदेखि विद्युत विवादको केन्द्र बनेको छ अरूण । हाल आएर तीन फेजको कार्यक्रम मध्ये अरूण तेस्रोको काम सुरु हुने आशा पलाएको छ । त्यही अरूण नदीको कुरा हो जहाँ वर्षादको समयमा नाउ (डुङ्गा) चल्दैन थियो त्यसबेला मान्छेले कस्तो पीडा भोग्नु पथ्र्यो ?
नेपालको सबैभन्दा होचो उपत्यका अरूण उपत्यका हो । जहाँ यतिखेर कालोपत्रे हवाई मैदान छ । हामी केटाकेटी नै हुँदा मान्छेहरू भन्ने गर्थे तुम्लिङटारमा हवाई गिरान बन्ने रे ! हवाई ग्राउण्ड भनेको रहेछ भन्ने कुरा पछि थाहा भयो । त्यही हवाई गिरान हो आजको तुम्लिङटार हवाई मैदान ।
तुम्लिङटारको त्यही हवाई गिरानको मुनी नाउ लाग्ने एउटा घाट थियो जसलाई तुर्केघाट भनिन्थ्यो । त्यो घाटमा झोलुङ्गे पुल बन्ने हल्लाले पनि त्यो पहाडी क्षेत्र पूरै हल्लिएको थियो । योग साधक बाल ब्रह्मचारी षडानन्दले रुमाल ओछ्याएर यो नदी पार गरेको विश्वास सबैलाई थियो तर त्यहाँ पुल बन्न सक्छ भन्ने कुरा कसैलाई विश्वास थिएन । यत्रो नदीमा कसरी पुल बन्न सक्छ ? मनको लड्डु घिउसँग खाने कुरा हो भन्थे । कोही कोही उप–बुजु्रकहरू पुल बनिहाले पनि मानव भोग नदिई पुल अडिदैन । त्यसैले छोराछोरी चोरेर लैजान्छन् होसियार भन्थे र सबै अभिभावकलाई आतङ्कित बनाउँथे । पुल बन्ने कुरामा मान्छेमा हर्ष थियो भने मानव बली दिने कुराले मान्छेमा विस्मात ब्याप्त थियो ।
अरूण नदीमा पुल अडिँदैन भन्नेहरूसँग एउटा बलियो प्रमाण पनि थियो । पुल बन्ने हल्ला चलेकै समयमा नदीमा अभूतपूर्व बाढी आएको थियो । बाढीले सिङ्गासिङ्गै रुखहरू घरी उठाउँदै र घरी लडाउँदै बगाएको देखिन्थ्यो । गाडीका चक्काहरू पनि बगाएर ल्याएको थियो । नदी किनारका कति मान्छे बगायो, कति पशु धन बगायो कति बालीनाली बगायो ? आज जस्तो सञ्चारको सुविधा थिएन । बाढी थामिएपछि ठूलाठूला माछाहरू बगरमा, खेतका गह्रामा मरिरहेका थिए । बाढीका माछा खान हुँदैन भन्ने चेत रहेछ त्यसबेला, मान्छेले माछा खाएनन् । बरु कुहेर कैयौँ दिनसम्म गन्हाइरहेको दुर्गन्धित भएर ।
अहिले अनुमान गर्न सकिन्छ त्यही खार्पा उपत्यकामा कतै टिङ्ग्री नदीमा बाँध बाँधेको थियो तिब्बत सरकारले, त्यो बाँध फुट्यो र मोटरगाडी समेत बगाउँदै अरूण नदीतिर हाम फाल्यो । नत्र असोज महिनाको पनि अन्तिमतिर यत्रो विशाल बाढी आउन सम्भव नै थिएन ।
उप बुजु्रकहरूले भने यस कुरालाई अतिरञ्जित गरेर प्रचार गरेका थिए । नदी रिसायो भनेका थिए । पुल बन्न सम्भव छैन, बनिहाले पनि यसैगरी बाढी आउँछ र सबै बढारेर लान्छ, कसैको पिताम चल्दैन भन्ने हल्ला गरिरहन्थे ।
पुल बन्ने कुरा कुनै कथाकारले कथा लेखेजस्तो मात्र थियो । कुनै दन्त्यकथा सुने जस्तो मात्रै थियो । राजकुमार दिक्पाल र सुनकेसरी राजकुमारीको कथा जस्तो । यथार्थ उही थियो– तुर्के घाट, सतीघाट र कात्तिके घाट । मेरी आमाको माइत जाने कात्तिके घाटमा हानपानी थियो थोरै बाढी आउँदा पनि नाउ बन्द हुने । सती घाट त्यही थियो जुन ठाउँलाई सङ्केत गर्दै खेम गुरुङले गीत गाए ‘वारी जमुना पारी जमुना, जमुनाका फेदैमा मनकामना’ भनेर । यो गीतको मनकामना गोर्खाको हैन तुम्लिङटारको हो भन्ने कुरा धेरै मान्छेलाई थाहा नहुन सक्छ ।
बाढी बढ्दै जाँदा सती घाट र तुर्के घाट चल्थे तर थोरै दिन मात्र चल्थे पातमा ज्यान राखेर त्यो पनि । त्यसपछि अनिश्चितकालका लागि आवत जावत बन्द हुन्थ्यो । जेठदेखि असोजसम्म नाउ बन्द हुन्थ्यो पाँच महिना । अरूणपारी बिहे गरेर दिएकी छोरी मरी कि जिउँदै छ बाबु आमालाई थाहा हुँदैन थियो । माइतीघरका बृद्ध बाबु आमा मरेकी जिउँदै छन् छोरीलाई पत्तो हुँदैन थियो । बरु कुनै कुनै ठाउँका घर देखिन्थे, गाई गोठ देखिन्थे, मुर्दा बोकेका मलामी र जन्त हिँडेका जन्ती देखिन्थे तर को म¥यो थाहा हुँदैन थियो । कसको बिहे भो पत्तो पाइँदैन थियो । नदी पारी दिएका सबै छोरीहरू अरूणमा उर्लिएको बाढी हेर्दै बाबु आमा सम्झिएर धुरुधुरु रुन्थे । यो रुनु बाहेक अर्को उपाय थिएन । आज जस्तो टेलिफोन थिएन, मोवाइलको कल्पनासम्म थिएन । चिठ्ठी आउनलाई नाउ लाग्नु प¥यो अरूणमा । अरूण सधैँ धमिलो पानीमा बौलाइरहेको हुन्थ्यो ।
वर्षात थामिएपछि बाढी घट्थ्यो । बाढी घटेपछि नाउ लाग्थ्यो, तुर्के घाटमा, सती घाटमा र कात्तिके घाटमा अनि त्रास बढ्थ्यो, कसकसको घरमा धागोले बाँधेको चिठ्ठी आउँछ भनेर । धागाले बाँधेको चिठ्ठी आउनु भनेको मान्छे मरेको खबर आउनु हो । आसम, मेघालय, मणीपुरतिर जीवन खोज्न गएका नेपाली मरेको खबर त्यस्तै धागाले बाँधेको चिठ्ठीमा आउँथ्यो । छ महिना, आठ महिना र दश महिना भएको हुन्थ्यो चिठ्ठी आउँदा अनि मान्छेहरू त्यो आफन्तको काजक्रिया गर्थे । अरूण वारी र अरूण पारीको चिठ्ठी आइपुग्न पनि ४र५ महिना लाग्थ्यो वर्खाको कारण ।
सञ्चारको दृष्टिले आजको पुस्ता एउटै कोठामा संसार भोगिरहेको छ, त्यो पुस्तालाई बधाई । र मलाई पनि बधाई । किनभने मैले त्यो विकराल समय पनि देखेँ र आजको समय पनि निर्वाध भोगिरहेको छु । (लेखक- कृष्ण अधिकारी )