सुनकाण्डको पेशी छरपस्ट, उच्च अदालतको ४ वटा इजलाशकै सुनुवाई सर्यो

सुनकाण्डको पेशी छरपस्ट, उच्च अदालतको ४ वटा इजलाशकै सुनुवाई सर्यो

सुमन सुस्केरा
विराटनगर, २१ असार ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारी सहित १६ जनाको मुद्दा पेशी फेरी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत बिराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार निवेदन दिएका थिए । निवेदन दिएपछि आज सुनुवाईको लागि पेशी चढेकोमा सरकारी वकिल तथा निवेदकका वकिलहरुले नै पेशी स्थगित गर्न निवेदन दिएपछि आजको पेशी पनि स्थागित भएको हो ।
मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर दर्ता गरेकाहरु मध्ये उच्च सरकारी वकिल कार्यालयको तर्फबाट टेकराज मल्ल ठकुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, सञ्जय राउत, दिवेश लोहनी, विकासराज खनाल, गोबिन्द निरौला र सम्बीरप्रसाद तोलाङ्गेको पेशी स्थगित गरिएको छ । त्यस्तै निवेदनको तर्फका वकिलले पनि पेशी स्थगितको लागि निवेदन दिएपछि आजको लागि तय भएको पेशी स्थगित भएको हो । यसरी निवेदकको तर्फबाट राजन थापा, एलबी मगर, बालकृष्ण श्रेष्ठ, विष्णुबहादुर खड्का, गोपालकुमार श्रेष्ठको पेशी स्थगित भएको उच्च सरकारी वकिलको कार्यालयका शाखा अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै सरकारी वकिलको तर्फबाट १७ नम्बर दायर भएको अम्बर बहादुर थापा र बिष्णुबहादुर खड्का सहित बालकृष्ण सञ्जेल र श्याम खत्रीको भने कैफियत प्रतिबेदन प्राप्त नभएकोले पेशी स्थगित भएको हो । जिल्ला अदालतले बुझाउनु पर्ने कैफियत प्रतिबेदन उच्च अदालतमा पेश भएको छैन ।
उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता चिरन्जीबी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन दर्ता भएकाहरुको कैफियत प्रतिबेदन आई नसकेको जानकारी दिए ।
आदेश चित्त नबुझेर बन्दीहरुले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत बिराटनगरलाई ४ जना बाहेकको कैफियत प्रतिबेदन पठाईसकेको छ । कैफियत प्रतिबेदनमा अभियुक्तले दिएको बायान, घटना मुचुल्का र अदालतको आदेश सहितको विवरण समावेश गरिने उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।
मुद्दाको सम्पुर्ण कैफियत प्रतिबेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने ब्यवस्था अनुसार आज पेशी तोकिएकोमा कतिपय सरकारी वकिलबाट र कतिपय निबेदकका वकिलको तर्फबाट पेशी स्थगित भएको हो ।
सुनकाण्डको पेशी ४ वटा ईजलाशमा
मोरङ जिल्ला अदालतमा करिब १ महिना लगाएर आदेश भएको सुन काण्डको पेशी उच्च अदालत बिराटनगरमा भने ४ वटा ईजलाशमा परेको छ । एक नम्बर ईजलाशमा पुण्यप्रसाद लामा, गोपाल कुमार श्रेष्ठ , बिष्णुबहादुर खड्का, संजय बहादुर राउत, हेमन्त गौतम, दिवेश लोहनी, गोबिन्द निरौला र विकासराज खनालको परेको छ । त्यस्तै २ नम्बर ईजलाशमा सम्बीर प्रसाद तोलाङ्गेको छ। त्यस्तै ईजलाश नम्बर ३ मा बालकृष्ण सञ्जेल, श्याम खत्री अम्बर बहादुर थापा र बिष्णुबहादुर खड्काको परेकोमा यसको कैफियत प्रतिबेदन आउन बाँकी रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । राजन थापा, एलबी मगरको पनि यसै ईजलाशमा परेको छ ।त्यस्तै ईजलाश नम्बर ४ मा बालकृष्ण श्रेष्ठ र टेकराज मल्ल ठकुरीका नाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्