महेन्द्र मोरङ क्याम्पस प्रमुख थुना प्रकरण : बिद्यार्थी र क्याम्पस प्रशासन बिच १९ बुँदे सहमती

महेन्द्र मोरङ क्याम्पस प्रमुख थुना प्रकरण : बिद्यार्थी र क्याम्पस प्रशासन बिच १९ बुँदे सहमती

विराटनगर, २४ असार ।
क्याम्पस प्रमुख सहित ४ जनालाई बिद्यार्थी संगठनहरुले थुनेको बिषयमा साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्वबियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका विचमा सहमती भएको हो ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का सह–संयोजक भास्कर खनाल, जिल्ला अध्यक्ष गोकर्ण घिमिरे, नयाँ शक्ति बिद्यार्थी युनियन प्रदेश नम्बर १ का संयोजक कमल पोख्रेल, अखिल(क्रान्तिकारी) जिल्ला संयोजक ताजिम अन्सारी लगायतका बिद्यार्थी नेताहरु सहितको टोलीले क्याम्पस प्रशासनसँग वार्ता गरेको थियो । झण्डै २ घण्टा चलेको वार्तामा बिद्यार्थीहरुको उठाउँदै आएको मागका बारेमा बुँदागत रुपमा छलफल भएको थियो ।
विद्यार्थीहरुले गत असार २१ गते लगाएको ताला क्याम्पस प्रशासनले बिना जानकारी फोडेपछि विवाद उत्कर्षमा पुगेको हो । विद्यार्थीहरुले एम.पि.ए.मा गरिएको शुल्क वृद्धी खारेज गरी विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, क्याम्पसमा हाजिरमात्र गरी तलव खाने प्राध्यापकको दरबन्दी खारेज गर्नु पर्ने, वि.वि.ए. संकायको विभागीय प्रमुख नियुक्ति दलिय भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिस्पधाको आधारमा हुनपर्ने माग राख्दै आएका थिए ।
आज साँझ भएको वार्ता पछि बिद्याथीहरुले उठाउँदै आएको माग सहित अन्य बिषयमा समेत सहमती भएको अनेरास्वबियुका क्याम्पस कमिटी अध्यक्ष नविन पहाडीले जानकारी दिए । क्याम्पससँग भएको सहमतीमा यसै शैक्षिक सत्रदेखि बिएस्सी सिएसआईटी संचालन गरिने, क्याम्पसले संचालन गरेका निजी कार्यक्रममा पनि आर्थिक बर्ष २०७५÷०७६ देखि लागुहुने गरी १५ प्रतिशत छात्रबृतीको ब्यवस्था गर्ने, एमपीए र बिपिएमा परिक्षा शुल्क स्वरुप लिईँदै आएको अतिरिक्त शुल्क खारेज गरी लिएको शुल्क फिर्ता गर्ने जनाईएको छ ।
क्याम्पसका कर्मचारी र प्राध्यापकको लागि अनिवार्य बिद्युतीय हाजिरीको ब्यवस्था मिलाउने, कात्तिक मसान्त भित्रमा क्याम्पसको सम्पुर्ण आम्दानी र खर्चको विवरण स्वेतपत्र जारीगरी सार्वजनिक गर्ने सहमती भएको नयाँशक्ति बिद्यार्थी युनियन प्रदेश संयोजक कमल पोखरेलले बताए ।बिद्यार्थीहरुले आफ्नो माग राख्ने क्रममा क्याम्पस प्रशासनले वेवास्ता गरेपछि उनीहरुले आज क्याम्पस प्रमुख सहित ५ जनालाई प्रमुखको कार्यकक्षमा थुनेका थिए । यसरी थुनिएकाहरुमा क्याम्पस प्रमुख बाबुराम तिमल्सिना, सहायक क्याम्पस प्रमुखहरु ताराप्रसाद यादव, मोहन कुमार श्रेष्ठ, शुसिल अधिकारी र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादव रहेका थिए । उनीहरुलाई बिद्यार्थीहरुसँग भएको सम्झौता पछि आजै साँझ बिद्यार्थीहरुले ताला खोलिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्