डा. केसीको अनशनको आज १४ दिन : स्वास्थ्य जटिल

डा. केसीको अनशनको आज १४ दिन : स्वास्थ्य जटिल

काठमाडौं । डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेको आज १४ दिन भएको छ । सरकारले काठमाडौंबाट जुम्ला खटाएका चिकित्सकको सेवा डा. केसीले लिन मानेका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले नै उनको उपचार जारी राखेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका लागि अझै पहल गरेको छैन । उनको उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई छाती दुख्ने, सास फेर्न समस्या भएको छ भने कमजोरीका कारण चक्कर लागिरहेको छ ।

त्यसैगरी वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने लगायतका समस्या पनि उनमा देखिएको छ । सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको छ भने मुटुको चाल तलमाथि भैरहेको छ ।

उनलाई आवश्यकता अनुसार अक्सिजन दिइएको उपचारमा संलग्न डा. पुजन कुमार रोकाया, डा. धिरज गुरुङ, डा. सिद्धार्थ खाती र डा. निराजन महासेठले जारी गरेको स्वास्थ्य अवस्थामा उल्लेख छ । रगतमा चिनीको मात्रा कम हुँदै गएको तर उनले ग्लुकोज लिन नमानेका कारण समस्या भएको छ । डा. केसीले नै उपचारमा सहयोग गरेका छैनन् ।

सरकारले वार्ताका लागि काठमाडौं ल्याउने तयारी गरेको भए पनि केसीले आफू कुनै पनि हालतमा काठमाडौं नआउने अडान कायमै राखेका छन् ।

वार्ताका लागि सरकारी टोली जुम्ला आउनुपर्ने उनको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्