बिहेको नाटक गरी ठगी गर्ने दम्पती प्रहरी फन्दामा

बिहेको नाटक गरी ठगी गर्ने दम्पती प्रहरी फन्दामा

दमौली, साउन २ गते । चोरका हजार दाउ हुन्छन् भने झै नयाँ/नयाँ तरिकाले ठग्ने गरेको पाइन्छ । नयाँ तरिकाले ठग्न खोज्नेको विश्वास गरे पनि तनहुँका एक युवक अन्त्यमा होसियारी अपनाउँदा ठगिनबाट बचेका छन् भने ठग्न खोज्ने दम्पती प्रहरीको नियन्त्रणमा परेका छन् ।
नियन्त्रणमा पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार माइती भई दैलेखको नारायण नगरपालिकाका लक्ष्मीसिंह थापा र उनका श्रीमान् जगतबहादु्र थापा रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । बिहेका लागि केटीलाई गहना लैजाने भनी गहना लिएर भाग्ने उद्देश्य बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । प्रहरीको नियन्त्रणमा परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मनोज पाण्डेका अनुसार उनीहरूले व्यास नगरपालिका–१२, कमलबारीका युवक अशोक रानालाई बिहेको लागि आइतबार केटी प्रस्ताव गरेका र सोमबार नै दमौलीस्थित दुर्गा मन्दिरमा विवाह गर्ने भनी झुक्याएका थिए ।
सोमबार जन्ती लिएर बसमा आएका अशोकले मन्दिरमा दुलही नदेखेपछि लमी बनेका लक्ष्मी र उनका श्रीमान्सँग भेटेका थिए । दुलही नजिकै रहेको र गहना लिएर गएपछि आउने उनीहरूले बताएका थिए । गहना नदिने र दुलही ल्याएपछि मात्रै दिने बताएपछि राना ठगिनबाट बचेका थिए । दुलही नआएपछि केटा पक्षले प्रहरीलाई खबर गरेपछि लक्ष्मी र उनका श्रीमान् प्रहरीको फन्दामा परेका छन् । दुलही नआएपछि दुलाहा रित्तै फर्किएको स्थानीय बलराम नहर्कीले जानकारी दिनुभयो । घटनाको परिस्थिति हेर्दा ठग्ने नियतले बिहेको नाटक गराइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्