प्रदेश नम्बर १ मै यस्तो ठाउँ जहाँ बैंक पुग्न एक दिन लाग्छ !

प्रदेश नम्बर १ मै यस्तो ठाउँ जहाँ बैंक पुग्न एक दिन लाग्छ !

भीमकुमार बाँस्कोटा

फिदिम साउन १२ : पाँचथरका दुर्गम मानिएका गाउँपालिकामा अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंक नहुँदा आर्थिक कारोबार गर्न सर्वसाधारणदेखि गाउँपालिकाका कर्मचारीले सास्ती बेहोर्नुपरिरहेको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा अझै बैंक सञ्चालन हुन नसकेको हो । यी गाउँपालिकामा बैंक सञ्चालन नहुँदा सदरमुकामबाटै आर्थिक कारोबार गर्नुपर्ने बाध्यता छ । ‘बैंक नहुँदा गाउँपालिकाको कामकारबाही नै प्रभावित हुने गरेको छ’, फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने, ‘सामान्य कामका लागि पनि सदरमुकाम झर्नुपर्ने बाध्यता छ ।’

फालेलुङ गाउँपालिकाबाट सदरमुकाम फिदिम आउन झन्डै एक दिन लाग्छ । गाउँपालिकामा कुनै पनि बंैक सञ्चालन नभएपछि फालेलुङले सदरमुकाम फिदिमस्थित नेपाल बैंकको शाखाबाट आर्थिक कारोबार गर्दै आएको छ । गाउँपालिकाले सञ्चालन गरेको योजनाको खाता खोल्न र कर्मचारीलाई तलब, भत्ता खुवाउन पनि सदरमुकाम धाउनुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए ।

‘बैंकको असुविधाकै कारण कतिपय योजना प्रभावित भएका छन्’, उनले भने, ‘कार्यालयको आन्तरिक काममा त झनै धेरै असर परेको छ ।’

तुम्बेवामा पनि बैंक नहुँदा गाउँपालिकाका सेवाग्राहीदेखि कर्मचारीसम्मले समस्या भोगिरहेका छन् । ‘गाउँपालिकाबाट सबै खातापाता मिलाएर आर्थिक कारोबारका लागि फिदिम आउनुपर्ने बाध्यता छ’, तुम्बेवाका अध्यक्ष होमनाथ थापाले भने, ‘फिदिम आएपछि बैंकले थोरै गल्ती देखाइदियो भने कामै रोकिन्छ । यस्तो धेरै समस्या भोग्नुपरेको छ ।’

ससाना योजनाको कामका लागि उपभोक्ता समितिले खाता खोल्न र काम गरिसकेपछि फछ्र्योट गर्न फिदिम धाउनुपर्ने बाध्यताले काम प्रभावित हुने गरेको हो । ‘अहिले त उपभोक्ता समितिमा बसेर काम गर्न नै झर्को मान्न थाले’, उनले भने, ‘फिदिम धाउनुपर्ने बाध्यताले अनावश्यक खर्च बढेर गएको छ ।’ तुम्बेवा गाउँपालिबाट एक दिन लगाएर सदरमुकाम फिदिम आउनुपर्ने बाध्यता छ । नेपाल बैंकको फिदिम शाखाबाटै तुम्बेवाले पनि बैंकिङ कारोबार गर्दै आएको हो ।

गाउँपालिकामा बैंक स्थापना गर्न पहल भएको अध्यक्षहरूको भनाइ छ । दुर्गम गाउँपालिकामा बैंकको सुरक्षा र बैंकिङ कारोबार कम हुने हिसाबले बंैक गाउँपालिका जान नचाहेको जनाइएको छ । एक वर्षको पहलमा बल्लतल्ल प्राइम बैंकको शाखा खोल्न तयारी रहेको जनाइएको छ ।

तुम्बेवा गाउँपालिकामा पनि प्राइमकै शाखा खोल्ने तयारी छ । फिदिम नगरपालिकासहित याङवरक, हिलीहाङ, कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा यसअघि नै बैंक स्थापना भइसकेका छन् ।(अन्नपुर्ण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्