घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि घर फर्किए प्रेमबहादुर

घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि घर फर्किए प्रेमबहादुर

लमजुङ, साउन १४ । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् ।

बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आईपुगेका हुन् । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए । ‘बाँचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइनँ, जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ,’ उनले भने ।

प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन । ‘मेरो बुबा÷आमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन,’ उनले भने, ‘७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो ।’

२००४ साल वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने खड्का बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर आएका थिए । त्यसपछि पुनः भारत फर्किएका प्रेमबहादुर अहिले ४७ वर्षपछि गाउँ आएका हुन् ।

बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग छन् । खड्काले आफू अहिलेसम्म अविवाहित नै रहेको बताए ।

धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको खड्काले दुःखेसो पोखे । सातजनाको समूहले आफ्नो साथमा रहेको २३ हजार भारतीय रुपैयाँसमेत लुटेको उनले बताए ।

कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए । बेवारिसे अवस्थामा पुगेका प्रेमबहादुरलाई लमजुङ धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन् । आफूलाई घर ल्याइदिने व्यक्तिले घर धमिलिकुवा भने पनि नाम भने थाहा नभएको उनले बताए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्