इलाममा नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलायो

इलाममा नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलायो

प्रकाश नेपाल

इलाम, साउन १५ । नेपाल विद्यार्थी संघ इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ ।

आफ्ना विद्यार्थीमाथि क्याम्पस हाताभित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै सोमबार दिउँसो नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेबल जलाएको हो ।

सोमबार बिहान छात्रवासमा सुतिरहेको अवस्थामा नेविसंघसम्बद्ध भोजराज जोशीमाथि सांघातिक आक्रमण भएको जनाइएको छ ।

विद्यार्थीलाई क्याम्पस हाताभित्रै आक्रमण गर्दा पनि क्याम्पस प्रशासन मौन रहेको र पटक–पटक जानकारी गराउँदा पनि क्याम्पस प्रमुख क्याम्पसमा नआएपछि उनको कुर्सी जलाइएको नेविसंघ पक्षको भनाइ छ ।

जोशीलाई दर्शन राई र सुशील बानियाँले क्याम्पसको छात्रवासमा नै पसेर आक्रमण गरेको दाबी गरिएको छ । राई अनेरास्ववियु र बानियाँ अखिल क्रान्तिकारीमा आवद्ध रहेको बुझिएको छ ।

घाइते जोशीलाई इलाम अस्पतालमा उपचार सम्भव नभएकाले झापा लैजाने तयारी भइरहेको नेविसंघका बबिन बोखिमले जानकारी दिए ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष ईश्वरी तामाङले भने आक्रमण नभएको भन्दै दोहोरो झडप भएको दाबी गरे । यसअघिको रिसइबीका कारण घटना घटेको उनको भनाइ छ ।

झडपपछि आफ्ना कार्यकर्ता पनि घाइते भएको तामाङको जिकिर छ ।

क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले भने घटनाका विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्