काठमाडौं, १६ साउन । प्रतिनिधिसभा बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएका थिए । २०४६ र २०६२ -६३ को ऐतिहासिक जन आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत थिए । उनकाे ७३ वर्षको उमेरमा साउन १५ गते मंगलबार दिउसो २ बजेर ५० मिनेटमा बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो । प्रतिनिधिसभाले जोशीको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गर्यो । अर्को बैठक भोलि बिहीबार दिउसो १ बजेका लागि बोलाइएको छ ।