मोबाइल फोन हराएको छ ? यसरी अनलाइन दर्ता गर्नुहोस !

मोबाइल फोन हराएको छ ? यसरी अनलाइन दर्ता गर्नुहोस !

मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो ।
तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपीमा लग इन गर्नुपर्नेछ । यसरी लग इन गरिसकेपछि त्यसको तलपट्टी रहेको साइन अप बटन क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाइँलाई दुईवटा विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये मोबाइल हराएको अवस्थामा रातो रङको पृष्ठभूमिमा लेखिएको ‘इन्डिभिजुअल एप्लिकेसन’मा क्लिक गरेपछि त्यहाँ उल्लेख विवरण भर्नुपर्ने छ । 
विवरणमा मोबाइलको आएमईआई, इएसन अथवा एमइआईडी नम्बरमध्ये कुनै एक उल्लेख गर्नुपर्नेछ । त्यस्तै हराएको मोबाइलको ब्रान्ड नाम, मोडल नम्बर पनि त्यहाँ आवश्यक पर्छ । एकै पटक दुईवटा मोबाइल हराएको छ भने पनि त्यसको विवरण भर्न सकिने सुविधा उक्त अनलाइनमा रहेको छ ।
हराएको व्यक्तिले यसरी अनलाइन दर्ता गर्दा आफ्नो नागरिकता, पासपोर्ट अथवा परिचय खुल्ने कार्डको स्क्यान कपी भने राख्नुपर्नेछ । अन्त्यमा इमेल राखेर त्यसलाई सबमिट गरेपछि त्यो खोज्ने प्रक्रियामा
अघि बढ्छ ।  प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यसरी प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी दूरसञ्चार सेवा प्रदायकसम्म पु¥याइन्छ । सेवा प्रदायकले पनि उक्त मोबाइल प्रयोगमा रहेको अवस्थामा पत्ता लगाउन सजिलो हुने भएकोले त्यहाँ पहिले उक्त जानकारी उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
त्यसपछि उक्त जानकारी अनलाइन मार्फत नै प्रहरीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । सबै प्रक्रिया अनलाइनमै हुने भएकोले हराएको व्यक्तिले फरक फरक ठाउँमा धाउनुपर्ने समस्या नहुने उहाँले बताउनुभयो । कागजी रूपमा हराएको मोबाइलको दर्ता प्रक्रिया छोट्याएर अनलाइनबाटै छिटो सुविधा उपलब्ध गराउन यसलाई कार्यान्वयनमा ल्याइएको हो, उहाँले भन्नुभयो ।
हराएको मोबाइल पत्ता लागेपछि प्रहरी कार्यालय अथवा प्राधिकरण आफैले सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिने व्यवस्था हुने पनि प्रवक्ता अर्यालले बताउनुभयो । प्राधिकरणले अनलाइनबाटै दर्ता सुरु गरे पनि यो अझ पूर्ण रूपमा तयार हुन केही बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी अपुरो रहेमा अनलाइनमार्फत नै सचेत गराउने व्यवस्था पनि यसमा गरिएको छ । यसबाहेक मोबाइल ब्लक गर्नुपर्ने र ट्रयाक गर्नुपर्ने भएमा पनि त्यसको सुविधा यसमा थप गरिएको छ ।(गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्