काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि नै काठमाडौं, भक्तपुर र ललितपुरका सबैजसो स्थानहरुमा मध्येमदेखि भारी वर्षा भइरहेको छ । सबै खोला–नालाहरुमा वहाव उच्च रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
काठमाडौंमा वागमतीसहित अन्य खोलाहरुमा बाढी उच्च रहेको छ । त्यसैगरी पूर्वी क्षेत्रको मेची, बिरिङ कन्काई, सुनसरी खोला, बुढी खोला, खाडो, त्रियुगा, लगायतका महाभारत तथा चुरेक्षेत्रका जलाधारहरुमा पनि वर्षा भइरहेको छ ।
त्यसैगरी पश्चिम क्षेत्रमा कर्णाली, बबई, पश्चिम राप्ति र आसपासका सबै नदीहरुमा वहाव देखिएको छ । पश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना भए पनि मध्ये र पुर्वी क्षेत्रमा जति नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं उपत्यकासहित,पूर्ण देशैभरनै मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविद् मञ्जु वासीले जानकारी दिइन् । उनका अनुसार मौसम पर्सीसम्म सक्रिय रहने देखिएको छ । “भोलिबाटै केही कम हुने देखिए पनि पर्सीसम्म नै मनसुन सक्रिय हुने देखिन्छ,” उनले भनिन् ।