नेविसंघको महाधिवेशन अनिश्चित, ३२ वर्षे उमेरहद नयाँ विवाद

नेविसंघको महाधिवेशन अनिश्चित, ३२ वर्षे उमेरहद नयाँ विवाद

अक्कल कुँवर/सुयेश मानन्धर/प्रदीप तामाङ

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको दुईवर्षे कार्यकाल आगामी भदौ २ गते सकिँदैछ ।

वर्तमान कार्यसमितिको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदापनि आन्तरिक किचलोमा फसेको नेविसंघले महाधिवेशनका लागि कुनै तयारी गरेको छैन ।

गुट–उपगुटको स्वार्थ र पछिल्लो समय उमेरहदको विवादले संगठनको महाधिवेशन झन्–झन् अनिश्चित बन्दै गएको हो ।

कार्यभार सम्हालेकै दिनदेखि आन्तरिक विवादमा रुमल्लिएको नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको कार्यकाल पनि विवादमै टुंगिएको छ ।

संघको महाधिवेशन आउँदो मंसिर २ गतेभित्र सक्न पार्टी नेता सम्मिलित निर्देशक समितिले निर्देशन दिइसकेको छ ।

तर, आन्तरिक विवाद बढ्दै जाँदा निर्देशक समितिले तोकेको समय सीमाभित्र पनि महाधिवेशन हुनेमा शंका छ ।

कार्यभार सम्हालेको मितिबाट दुईवर्षे कार्यकाल सकिएपनि विधानअनुसार कार्यसमितिले तीन महिना म्याद थप्नसक्छ । तर, थपिएको समयभित्र पनि महाधिवेशन हुने वातावरण बन्न सकेको छैन ।

पछिल्लो समय संगठनभित्र देखिएको उमेरहदको विवादले उग्ररुप लिँदै गएको छ । यही विवादले महाधिवेशन झन् अनिश्चित बनेको छ ।

नेविसंघको विधानमा उम्मेदवार बन्न ३२ वर्ष उमेरहद कायम गरिएको छ । तर, पछिल्लो समय नेविसंघका कतिपय प्रभावशाली नेताहरु उमेरहदको विपक्षमा छन् ।

संघका उपाध्यक्ष पुष्पकुमार शाही संगठन उमेरले नभइ एजेन्डा र विचारले चल्ने भन्दै विधानको अवैज्ञानिक व्यवस्था मान्य नहुने बताउँछन् ।

उमेरहदको विपक्षमा रहेका विद्यार्थी नेताहरु उमेरहद खुला गर्ने विषयमा योजनाबद्धरुपमा लागेका छन् ।

तर, संघका प्रवक्ता प्रेमराज जोशीले कसैले विरोध गर्दैमा महाधिवेशन नरोकिने भन्दै विधानअनुसार नै महाधिवेशन हुने दाबी गरे ।

केन्द्रीय सदस्य जयराम दाहाल कोही विधानभन्दामाथि हुन खोज्ने र कोही विधान नै नमान्ने प्रवृत्तिका कारण संगठनभित्र विवाद भइरहेको बताउँछन् ।

नेविसंघमा उमेरहद पूरा भएका नेताहरुलाई पार्टीभित्र व्यवस्थापन गर्न नेतृत्वले तदारुकता नदेखाएका कारण उमेरहदको विवाद बल्झिएको हो ।

नेविसंघमा अहिले पनि माउ पार्टीका नेताहरुको छत्रछायाँका गुट र उपगुट मौलाएका छन् ।

पार्टीकै नेताहरु गुट संरक्षणमा लागेकाले पनि भ्रातृसंगठनमा विवाद चुलिँदै गएको र यसले महाधिवेशन नै अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्