काठमाडौँ, २८ साउन ।
नेपाल चलचित्र निर्माता संघले दोहोरो करको मारमा नपार्न सरकारसँग माग गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारले समेत कर असुली गर्न थालेको भन्दै दोहोरो कर लिने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन । ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, राजस्वलगायतका प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्रुटीपूर्ण रुपमा बक्स अफिसमा समावेश गरिएको खर्च विवरण खरिब बिक्री खाताबाट सच्याउने व्यवस्था गर्न पनि माग गरे । भूलबस इन्ट्रि गरिएको खर्च सच्याउन नपाउँदा चलचित्र व्यवसायीहरु मारमा परेको अध्यक्ष अधिकारीको भनाई छ ।
संघले दुर्गम क्षेत्रमा छायांकन हुँदा भएको खर्च पनि समावेश हुनेगरी कर तिर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानकर्षण गराएको छ । संघका अनुसार नेपालमा हाल वार्षिक ९० देखि १ सय २५ वटासम्म चलचित्र निर्माण हुने गरेको छ ।