बलात्कारपछि हत्या प्रकरण : निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी !

बलात्कारपछि हत्या प्रकरण : निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी !

महेन्द्रनगर, ६ भदाै । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको साटो झन उग्र बनेको हो ।cनिर्मलाको बलात्कार पश्चात हत्या गरेको अभियोगमा प्रहरीले सोमवार भीमदत्त नगरपालिका–१९ का दिलिप बिष्टलाई सार्वजनिक गर्यो । तर, स्थानीयले घटनाको मुख्य दोषिलाई प्रहरीले संरक्षण गर्न मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले ४१ वर्षीय आरोपित बिष्ट निर्दोश रहेको र वास्ताविक दोषिलाई प्रहरी संरक्षण गरिरहेको समेत आरोप लगाएका छन् ।नागरिक संघर्ष समिति कञ्चनपुरकी अध्यक्ष मिना भण्डारीले भनिन्, ‘कञ्चनपुर प्रहरी र सिआईबीले यस्तो रिजल्ट दिन्छ भनेर हामीले सोचेका पनि थिएनौं । २६ दिनमा पागललाई सार्वजनिक गर्यो ।’ त्यस्तै उनले प्रहरीको अनुसन्धानमा विश्वसनीयता नभएको दाबी गर्दै नयाँ सिराबाट अनुसन्धान शुरु हुनुपर्ने माग राखिन् । ‘हामीले सिआईबीलाई विश्वास गरेका थियौं । तर अब नसोचेको र बिकाउ परिणाम दिने सिआईबी पनि चाहिएको छैन,’ संयोजक भण्डारीले आरोप लगाइन्, ‘अनुसन्धान पटक्कै विश्वसनीय छैन । अनुसन्धान नयाँ सिराबाट शुरु गरी दोषिलाई हदैसम्मको कारवाही हुनुपर्छ ।’ मंगलवारको आन्दोलनले उग्र रुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ !

प्रहरीले अनुसन्धानको नाममा स्कूले बालबालिकाहरुलाई नियन्त्रणमा लिने, कुटपिट गर्ने जस्ता कार्य गर्न थालेपछि महुलिया उल्टाखाममा त्रास बढेको छ । स्थानीय माया नेगीका अनुसार प्रहरीले अनुसन्धानको नाममा निर्मला पन्तले अध्ययन गरेको महुलिया उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर विभिन्न किसिमको यातना समेत दिने गरेको छ । जसले बालबालिकामा मनोवैज्ञानिक असर समेत पुगेको नेगीले बताइन् ।

प्रधानमन्त्रीलाई ज्ञापन

निर्मलाको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले नक्कली अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै कञ्चनपुरका नागरिक अगुवाले आज प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।  ‘२५ दिनपछि घटनास्थलमा दोषि देखाइएको व्यक्ति बिष्टको कमिजको खल्ती भेटिएको, बिष्टले अपराध कबूल गरेको जस्तो आधारहीन, अविश्वासिलो कुराहरु सबुतको रुपमा ल्याउनु हस्यास्पद रहेकोले आमजनतामा आक्रोश पैदा भएको छ । वास्तविक अपराधि पत्ता लगाउनुको साटो अपराधीलाई बचाउन फितलो अनुसन्धानको नाटक भएको छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्