बिराटनगर भदौ ९ , तीन महिनामा २१ हजार मतदाता थप भएका छन् । बैशाखदेखि असारसम्ममा २१ हजार मतदाता थप भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले १८ वर्ष उमेर पुगेका, तर मतदाता नभएकाको नामावली संकलन थालिएको हो । आयोगले ७७ वटै जिल्लाबाट मतदाताको नाम संकलन गरेको जनाएको छ । आयोगले साउन १ देखि जिल्ला प्रशासनबाट नागरिकता लिनेहरूलाई स्वतः मतदाता नामावलीमा नाम सूचीकृत गर्ने व्यवस्था मिलाएको छ । तर साउनमा थपिएको मतदाताको विवरण भने संकलन भइरहेको आयोगको भनाई छ ।
साउन १ देखि सबै जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन भइरहेकाले मतदाता नामावलीमा नाम सूचीकृत गराउन पनि आयोगले आग्रह गरेको छ । हालै सम्पन्न तीन तहको स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय १९ मतदाता थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन गरेको थियो ।
गत वर्ष सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचनमा जम्मा १ करोड ५४ लाख ४२ हजार ६६८ मतदाता कायम थिए ।