सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा

सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा

राजविराज (रासस) ।   गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ ।

कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए ।

अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ । बाढीले झण्डै तीन सय बिघामा लगाइएको  धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् । बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ ।

सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो । बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी,  सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्