सिन्धुपाल्चोक भदौ १२, मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् ।
जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए ।
भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएका थिए । केटीका आफन्तले प्रहरी कार्यालयमा उजुर गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेका थिए ।उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । आइतबार स्थानीयले मेलम्ची नगरपालिका-६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवैलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी फर्किएर झुण्डिएको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । सँगै हिँडेका अर्को जोडीलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि उनीहरु डराएर आत्महत्या गरेको हुन सक्ने स्थानीयको बुझाइ छ ।
पक्राउ परेका जोडीले सहमतिमा नै शारीरिक सम्बन्ध राखेको दुवैले स्वीकारे पनि युवतीको उमेर १३ बर्षको मात्रै भएकाले प्रहरीले जबरर्जस्ती करणी अन्र्तगत मुद्दा चलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियो । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।