बिम्स्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौँमा

बिम्स्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौँमा

काठमाडौँ, भदौ १४ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन बिहीवार काठमाडौँमा विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । दुई दिनसम्म चल्ने सम्मेलनमा बिम्स्टेकका सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहने छ ।
सम्मेलनमा भाग लिनका लागि म्यानमारका राष्ट्रपति विन मिन्थ मङ्गलबार नै काठमाडौंँ आइपुग्नुभएको छ । बुधवार उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण समेत सम्पन्न गरिसक्नुभएको छ ।
बुधवार भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार लिन्पो छिरिङ बाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना नेपाल आइपुग्नु भएको छ । उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । उहाँहरुको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बिहीबार विहान ११ बजे अगाबै भारत, थाइल्यान्ड र बङ्गलादेशका सरकार प्रमुख नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल आइपुग्नु हुने राष्ट्र तथा सरकार प्रमुखहरूले बिहीबार नै राष्ट्रपति विद्यादेबी भण्डारीसँग सामूहिक रुपमा भेट गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले उहाँहरूको स्वागतमा राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ ।
सम्मेलनको औपचारिक उद्घाटन ताहाचलस्थित सोल्टी होटलमा बिहीबार दिनको ३ बजे गरिने कार्यक्रम तय गरिएको छ । बैठकमा सदस्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्नुहुनेछ । बिहीबार साँझ प्रधानमन्त्री ओली पाहुनाको स्वागतमा होटल हायातमा रात्रिभोजको आयोजना गर्नुहुने छ । त्यस अवसरमा सदस्य राष्ट्रका कलाकारहरूले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
नेपालमा रहँदा केही सदस्य राष्ट्रका सरकार प्रमुख र नेपाल सरकारबीच विभिन्न विषयमा द्विपक्षीय भेटवार्ता समेत हुने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्