अन्तरजातीय विवाहका कारण सुनसरीका एक प्रेम जोडी भूमिगत

<span class='c1'>अन्तरजातीय विवाहका कारण सुनसरीका</span> <span class='c2'>एक प्रेम जोडी भूमिगत</span>

अर्जुन आचार्य

विराटनगर भदौ १४ : अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक प्रेम जोडी भूमिगत हुन बाध्य छन्। आफूहरू सार्वजनिक भए केटी पक्षका आफन्तको निशानामा पर्ने भयले उनीहरू भूमिगत हुन बाध्य भएका हुन्।  उनीहरूले ठाउँ नबताउने शर्तमा पत्रकार सम्मेलन गरी आफूहरूलाई ससम्मान घर फर्कने वातावरण बनाइदिन आग्रह गरेका छन्। प्रेम विवाह गरेका सुनसरीको हरिनगरा गाउँपालिका– २ भुटाहाका हजरत साफी र सोही ठाउँकी २० वर्षीया बबिताकुमारी मण्डलले २०७४ फागुनमा भागी विवाह गरेका थिए।  मुस्लिम केटासँग विवाह गरेपछि केटी पक्षले बारम्बार धाकधम्की दिएर विस्थापित गराएको उनीहरूको दाबी छ। आफूहरूको विवाह तोडिदिने डरले लुकेर बस्दै आएको उनीहरूले बताए। बबिताले एक विज्ञप्ति जारी गर्दै आफूहरूले कसैको करकाप, डरत्रास र धम्कीले नभई राजीखुसीले विवाह गरेको बताएकी छन्।  ‘मेरो बुबा पर्शुराम मण्डलले बबितालाई अपहरण गरेर लगेको कुरो झूठो र कपोल कल्पित हो’, विज्ञप्तिमा उल्लेख छ, ‘बुबाले सामाजिक परिबन्धले हाम्रो प्रेम विवाह स्वीकार गर्न नसकेर तोड्नका लागि अपहरण तथा डरत्रासको नाटक रचदै आउनुभएको छ।’ बबिताले हजरतसँग २०७२ सालमा भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै प्रेम बसेको बताइन्। उनले हजरतसँग प्रेम भएकाले उनैसँग विवाह गरिदिन परिवारजनलाई आग्रह गरे पनि तर परिवारले स्वीकार नगरेको सुनाइन्। ‘परिवारले विवाह गरिदिन अस्वीकार गरेपछि २०७४ फागुनमा फागु पूर्णिमाको दिन भागेर विवाह गरेका हौँ’, उनले भनिन्।  विवाह तोडिने डरले उनीहरूले जिल्ला अदालत झापाबाट श्रीमान्–श्रीमतीको नाता कायमसमेत गराएका छन्। 

दुवैको घर परिवारले उनीहरूको प्रेम विवाहलाई स्वीकार नगरेपछि उनीहरू आफन्तको शरणमा बसिरहेका छन्। बबिताका बाबु पर्शुराम मण्डलले हजरतका दाई आलम साफी, काकाको छोरा नसिम साफी, ठूलोबुबाको छोरा अकबर साफी संसाद अंसारी र इटहरीका विकास राईमाथि छोरी अपहरण गरेको मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।  बबिताका बुबा पर्शुरामले जबर्जस्ती उनलाई छुटाएर लगेको हजरतले गुनासो पोखे। हजरतबाट छुटेको चार महिनापछि पुनः बबिता उनीसँगै घरबाट भागेर लुकेर बसिरहेका छन्। दोस्रो पटक पनि छोरी हजरतसँग भागेपछि पर्शुरामले हजरतका बुबा अमिनउद्दिन साफी, आफन्त परवेज आलम र मुर्सिद साफीमाथि डरत्रास तथा धाकधम्की देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन्। प्रहरीले उनीहरूलाई सोधपुछका लागि एक दिन नियन्त्रणमा लिएर छाडेको छ। पर्शुरामले हजरत र उनका आफन्तहरूले आफ्नी छोरी बबितालाई दोस्रो पटक भदौ ५ गते राती ढोका फोडेर अपहरण गरी लगेको दाबी गरे। उनले पहिले पनि उनीहरूले अपहरण गरेर फिरौती मागेपछि प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीरबन्धक मुद्दा चलाएको सुनाए। उनले अमिनउद्दीन, परवेज र मुर्सिदले आफूलाई अनेक डरत्रास र धाकधम्की देखाएर ज्यान मार्नेसम्मको धम्की दिएपछि प्रहरीमा उजुरी दिन बाध्य भएको गुनासो पोखे। उनले आफूले नै बबितालाई लुकाएर राखेको अमिन उद्दिनलगायतले प्रहरीमा बयान दिएको दाबी पनि गरे।  अमिनउद्दिनले छोरा हजरतले बबितासँग गरेको प्रेम विवाह आफ्नो परिवारका लागि अभिसाप भएको गुनासो पोखे। उनले छोरा, भतिजालगायत आफन्त नातागोता विवाहकै कारण जेल जीवन बिताउन र प्रहरीमा धाउन बाध्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्