कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग

<span class='c1'>कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई</span> <span class='c2'>अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग</span>

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, भदौ १८ गते । कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् ।
नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर्फ कोसी नदीको पानी पश्चिम नेपालतर्फ बगाउँदा सप्तरीका जोगनियाँ, हनुमाननगर र गोबरगडा क्षेत्रमा बर्सेनि क्षति हुने गरेको भन्दै कोसी सङ्घर्ष समिति, कोसी विस्थापित समाज र कोसी विस्थापित परिवार समाज सप्तरीले प्रधानमन्त्री, गृहमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पहल गरिदिन आग्रह गरेका छन् ।
बिमस्टेकको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला नेपालस्थित भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाइएको कोसी सङ्घर्ष समितिले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयमा दिइएको निवेदनमा भारतीय पक्षले एकलौटी रूपमा कोसी ब्यारेजदेखि दक्षिण पश्चिम नेपालतर्फ पानी डो¥याएर पठाउने गरेकोले ६२५ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्ती डुबानमा पर्दा अन्नपात, लुगाकपडा क्षति भएको उल्लेख छ । सन् १९९० देखि २०१८ सम्मको क्षतिबापत भारतसँग सो रकम माग गरिएको छ ।
सो माग सहितको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय र बिहारका मुख्यमन्त्रीको कार्यालयमा पनि दिइएको कुरा समितिले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नेपाल रहँदा उहाँलाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र दिने प्रयास भने विफल भएको बताइएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल स्थलगत अध्ययन गरी प्रतिवदेन बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयको जलस्रोत महाशाखाका सिनियर डिभिजनल इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार स्थलगत अध्ययन गर्नका लागि जलस्रोत तथा सिँचाइ विभागलाई जिम्मेवारी दिइएको छ । विभागले स्थलगत अध्ययन प्रतिवेदन दिएपछि सो विषयमा काम कारबाही अघि बढाइने भएको छ ।
सन् १९७५ मा कोसी सम्झौताको पुनरावलोकन हुँदा ब्यारेजले प्रभाव पार्ने स्थानमा कुनै पनि संरचना निर्माण गर्दा वा काम गर्दा नेपालसँग समन्वय गरेर मात्र काम अघि बढाइने व्यवस्था गरिएको छ तर ब्यारेजदेखि दक्षिणतिरको भागमा भारतले एकलौटी ढङ्गले पानीलाई पश्चिम नेपालको क्षेत्रमा बग्ने गरी गहिरो गरेर ढुङ्गा, बालुवा झिकेपछि हाल पानी नेपालतर्फमात्र बग्ने गरेको छ । भारतले पूर्वतर्फ नहरको संरचना निर्माण गरेर हिउँदमा पानी लिने गरेको छ भने बर्खाका बेला कोसी नदीमा पानीको बहाव बढ्ने बित्तिकै पश्चिम पट्टीको ढोका खोलेर पानी पश्चिम पट्टी छोड्ने गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
मन्त्रालयका जलस्रोत महाशाखा प्रमुख महेश्वरनरसिंह केसीका अनुसार नेपाल र भारतबीच सीमा क्षेत्रमा देखिएका बाढी तथा डुबानका समस्या लगायतका विषयमा छलफल गर्न आगामी अक्टोबरमा संयुक्त बैठक आयोजना गरिने भएको छ । उहाँले भन्नुभयो, सीमा क्षेत्रमा धेरै समस्या छन् । कोसी मात्र नभएर गण्डकको सुस्ता, लक्ष्मणपुर बाँध लगायतका क्षेत्रमा भएका समस्या समाधानका लागि दुई देशका प्राविधिकबीच बैठकमा निष्कर्षमा पुगिने छ ।
कोसी ब्यारेज निर्माण गर्दा आफ्नो भूमि डुबानमा परेको र सोको मुआब्जा पनि भारतले हालसम्म नदिएको पनि स्थानीयले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्