निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

दुर्गा उपाध्याय

कन्चनपुर, भदौ २२ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।

शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका संयोजक हरिप्रसाद मैनालीले हत्या प्रकरणमा प्रहरीबाटै त्रुटि भएको बताए ।

उनले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था त्यसै नआएको भन्दै प्रहरीबाट घटनाको अनुसन्धानमा त्रुटिहरु भएको उल्लेख गरे ।

अनुसन्धानकाक्रममा थुप्रै तथ्यहरु फेलापारेको बताउँदै अरु प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नसकिने उनको भनाइ छ ।

निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापरबाही भएको छानबिन समितिका सदस्य तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) रामप्रसाद श्रेष्ठले बताए ।

पीडित परिवारले जानकारी गराउनेबित्तिकै प्रहरीले अनुसन्धान गरेको भए अपराधी पत्ता लगाउन समस्या नहुने श्रेष्ठको भनाइ छ ।

गत भदौ ८ गते टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानको प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।

कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते हत्या गरिएको थियो । हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा ११ गते भेटिएको थियो । पछि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्