खानेपानीको समस्या समाधान सय आयोजना शुरु

खानेपानीको समस्या समाधान सय आयोजना शुरु

घोराही, २८ भदाै ।   दाङ जिल्लामा करीब आधा जनसङ्ख्या शुद्ध खानेपानीको पहुँचमा बाहिर छ । जिल्लामा हाल करीब ५५ प्रतिशत जनताले मात्र शुद्ध खानेपानी पाएका छन् ।

ग्रामीण क्षेत्रमा कुवा, जरुवा (खोलाका मूल), ट्युबवेलको पानी पिउनका लागि प्रयोग गर्नेहरुलाई अहिलेसम्म शुद्ध खानेपानीको पहुँचको स्तरमा राखिएको छैन । खानेपानी डिभिजन कार्यालयले जिल्लामा बढ्दो खानेपानीको समस्या पूरा गर्न सयभन्दा बढी खानेपानीका योजना सञ्चालनमा ल्याएको छ । ठूलो लगानीमा निर्माण हुन लागेका ती योजनाले जिल्लाको करीब एक चौथाइ खानेपानीको माग पूरा हुने अनुमान गरिएको छ । अहिले सञ्चालनमा आएका योजना सम्पन्न भइसकेपछि ८० प्रतिशत जनतासम्म पानीको पहुँच पुग्ने खानेपानी तथा सरसफाइ डिभिजनले आँकलन गरेको छ ।

डिभिजन कार्यालय दाङका अनुसार हाल जिल्लामा विभिन्न योजनाअन्तर्गत १०२ ठूला योजना सञ्चालनमा छन् जसमा केन्द्र्रीय सरकारले नै सञ्चालनमा ल्याएको ‘तराई–मधेश खानेपानी योजना’ अन्तर्गत ५२ आयोजना जिल्लामा निर्माणाधीन अवस्थामा छन् जसका लागि गत आव २०७४/७५ मा सरकारले रु १५ करोड ८६ लाख बजेट विनियोजन गरेको थियो । त्यसमा हाल रु १३ करोड ५४ लाख खर्च भएको छ ।

त्यस्तै जिल्लामा खानेपानीको सहज पहुँच विस्तारका लागि ‘उच्च प्रविधियुक्त खानेपानी’ नाम दिएर ४३ योजना पनि हाल निर्माणाधीन छन् । सोका लागि सरकारले गत वर्ष रु सात करोड २० लाख जिल्लामा रकम पठाएको थियो । त्यसमा रु पाँच करोड ३१ लाख खर्च भएको थियो ।

जिल्लामा खानेपानीका आयोजना सञ्चालन गरिरहेका खानेपानी उपभोक्ता समितिसँगको सहकार्यमा सञ्चालन हुँदै आइरहेको सहलगानी (७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ता समिति) खानेपानी आयोजना पनि अहिले तीनवटा निर्माणाधीन छन् । खानेपानी डिभिजन कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रु १५ करोड १४ लाख, वडा नं ७ सर्राको खानेपानी आयोजनामा रु १६ करोड ५० लाख र वडा नं १५ भरतपुरको खानेपानी आयोजनामा रु १८ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुन लागेका छन् ।

सबै जनतालाई खानेपानीको पहुँचमा पुर्‍याउन र बजार क्षेत्रमा बढेको खानेपानीको अभाव परिपूर्तिका लागि खानेपानीको विस्तार गर्ने योजना सञ्चालन हुन लागेका हुन् । खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम सकिएको र ती खानेपानी आयोजनाका लागि ठूलै रकम लागत लाग्नेछ । एउटा खानेपानी आयोजनाबाट २०० भन्दा बढी परिवार लाभान्वित हुने अनुमान गरिएको छ ।

जिल्लाका विकट क्षेत्र पञ्चकुले, हापुरे, पुरन्धारा, विजौरीको जुरपनिय। मैनतारालगायत स्थान र तुलसीपुर उपमहानगरपालिकाभित्र पनि खानेपानी डिभिजन कार्यालयले खानेपानी गुणस्तर सुधार आयोजनाअन्तर्गतका खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ । खानेपानी मुहानबाट जनताको घरको धारासम्म प्रशोधन गरी शुद्ध पारेर पठाइनेछ । ‘खानेपानी सुधार आयोजना’ अन्तर्गत मात्र गत वर्ष सरकारले रु दुई करोड ५० लाख जिल्ला पठाएको थियो । आव २०७४/ ०७५ मा मात्र सरकारले जिल्लाका खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु ३६ करोड ६७ लाख पठाएको डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धितालले जानकारी दिनुभयो । सोमध्ये रु ३० करोड ७४ लाख जिल्लाका विभिन्न खानेपानी आयोजनाका लागि खर्च गरिएको छ ।

यस्तै आगामी वर्षका लागि पनि जिल्लामा करीब तीन दर्जन थप खानेपानी योजना माग भएको प्रमुख धितालले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा खानेपानीका मुहान सुक्दै जाने तथा खानेपानीका रुपमा प्रयोग भइरहेको कुवा, जरुवा र हातेपम्पबाट आउने पानी पनि सुक्दै गएपछि जिल्लामा खानेपानीको समस्या देखिएको हो । यी सबै समस्या समाधान गर्नका लागि अहिले आफूहरुले खानेपानीको बढीभन्दा बढी योजना सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । आगामी वर्ष पनि खानेपानी नभएका स्थानमा मुहानको खोजी गरी योजना सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

जिल्लामा अहिले खानेपानीको योजना सञ्चालन गर्नका लागि मुहानको समस्या भएको छ । अहिले पानीको मुहान नभएका स्थानमा डिप बोरिङमार्फत खानेपानीको योजना सञ्चालन गरिएको उहाँको भनाइ छ । डिप बोरिङको पानीमा पनि केही स्थानमा फलाम देखिए पनि अधिकांश स्थानको पानी सफा र शुद्ध नै भएको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखको धितालको भनाइ छ ।  – रीता लामा (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्