सप्तरीमा ज्वरोका बिरामीमा ‘स्वाइनफ्लु’ देखियो

सप्तरीमा ज्वरोका बिरामीमा ‘स्वाइनफ्लु’ देखियो

सप्तरी , भदौ २९ गते । सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ (स्वाइन फ्लु) र ’एचथ्रिएनटु’ (हङ्कङ फ्लु)को भाइरस फेला परेको छ ।
कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइन फ्लु र दस जनामा हङ्कङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताउनुभयो । आठ जनाको रिपोर्ट आउन अझै बाँकी छ । भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार १२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
परीक्षणमा कञ्चनरुप नगरपालिका ७, बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण भएको जानकारी यादवले दिनुभयो । कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगरका छ जनामा हङ्कङ फ्लू फेला परेको छ । कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं. ३ का १४ वर्षीय किशोर राम र वडा नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरी बिरामीको रगत र ¥याल परीक्षण गरिएको थियो ।
ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भर्ना गरिएकी सरदारको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।

एकपछि अर्को गर्दै लगातार बिरामीको सङ्ख्या थपिँदै गएपछि स्थानीय त्रसित भएका छन् तर जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायले भने चारै जनाको मृत्युको कारण स्वाइन फ्लु नै भएको एकिन साथ भन्न सक्ने अवस्था नरहेको जनाएका छन् । मृत्यु भएकामध्ये कसैको पनि परीक्षण भएन, जनस्वास्थ्य प्रमुख यादव भन्नुहुन्छ, स्वाइन फ्लु वा हङ्कङ फ्लुकै कारण मरेको हो भन्ने एकिनसाथ भन्न सकिँदैन । भारतको झारखन्डस्थित बाबाधाम गएर आएका तीर्थयात्रीबाट स्वाइन फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । बाबाधामबाट फर्किएका कञ्चनरुप नगरपालिका ४, कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं. ७ का हरिलाल साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएपछि उतैबाट रोगको सङ्क्रमण सुरु भएको हुनसक्ने आशङ्का गरिएको हो ।

कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाइन फ्लु र हङ्कङ फ्लुको भाइरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको आपत्कालीन बैठक बसेको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा छलफल बैठकमा भएको बताइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वाइन फ्लु तथा हङ्कङ फ्लु फोहोर तथा भीडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्