सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट चारको मृत्यु , बिद्यालय बन्द गरियो

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट चारको मृत्यु , बिद्यालय बन्द गरियो

राजविराज, भदौ ३० । सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हालसम्म कन्चनरूप नगरपालिका वडा नम्बर–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर–३ का १४ वर्षीय किशोर राम,  वडा नम्बर–९ का १४ वर्षीय आमोदकुमार राम र वडा नम्बर–४ की ६० वर्षीया बलसालदेवी सरदारले ज्यान गुमाइसकेका छन् ।

कन्चनरुप र हनुमाननगर–कंकालिनी नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रीएनटु’ (हङकङ फ्लु)को भाइरस फेलापरेको थियो ।

कन्चनरुप नगरपालिकाका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणकाक्रममा एकजनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अझै ८ जनाको रिपोर्ट आउन बाँकी छ ।

गत भदौ २४ गतेदेखि तीन दिनसम्म सन्चालन गरिएको स्वास्थ्य शिविरमा जम्मा एक हजार १२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीयहरु भने त्रसित भएका छन् ।

कन्चनरुप विपद् क्षेत्र घोषित

सप्तरीको कन्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको छ ।

कन्चनरुप नगरकार्यपालिकाको शुक्रबारको बैठकले नगरपालिका क्षेत्रमा स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी फेलापरेको र बिरामीको संख्या बढ्दै गएको भन्दै विपद् क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

यसैगरी, नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको छ ।

विद्यालयमार्फत् भाइरसको संक्रमण तीव्ररुपमा फैलनसक्ने भएकाले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्