बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

अनिल श्रेष्ठ

विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् ।
पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदैन,’ उनले भनिन्, ‘धाराको पानीले हात धुँदासमेत रातो हुन्छ । पानी चलाउन छोडेको थुप्रै भयो ।’ घरमा जोडेको धारा कटाउने प्रक्रिया झन्झटिलो भएकाले फोहर पानीको महसुल नियमित रूपमा बुझाउन बाध्य भएको उनको दुखेसो छ ।

फोहर पानीको महसुल तिर्ने एक्ली पात्र भने होइनन् । महानगर–११, १२, ६ नम्बर वडाबासीको साझा समस्या हो । विराटनगर–११ की रमा श्रेष्ठले धारामा आएको पानी धमिलो आउने गरेकाले नखाने बताइन् । ‘धाराको पानीमा लुगा धुँदा पनि रातो भएर आउँछ,’ उनले भनिन्, ‘धारामा आएको पानीले प्यासेज सफा गर्ने काम मात्रै भएको छ ।’ उनले धाराको पानीले भाँडाकुँडासमेत धुँदा कालो बस्ने गरेकाले अहिले धाराको पानी नै उपभोग गर्न छोडेको बताइन् ।
विराटनगर–११ दुर्गा मन्दिरचौककी माया खड्काले धाराको पानी रातो र फोहर आउने भएकाले घर अगाडि आगनमा गाडेको ट्युवेलको पानी खाँदै आएको बताइन् । ‘धारामा आएको पानी भाँडाकुँडा र लुगा धुन पनि प्रयोग गरिने अवस्था छैन ।’ उनले भनिन् ।

पुरानो पाइप लाइनिङ जीर्ण भएर लिक हुँदा नालाको पानी मिसिएर उपभोक्ताको धारामा दूषित पानी पुग्ने गरेको छ । विगत वर्षमा खानेपानी संस्थानले वितरण गरेको दूषित पानी खाएर विराटनगरमा जन्डिस फैलिएको थियो । धाराको पानी पिएर जण्डिसकोे बिरामी हुँदा दुई वर्षअघि तीन जनाको ज्यान गएको थियो ।
यता नेपाल खानेपानी संस्थान शाखा विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले विराटनगरको दुई ठाउँको पानीमा आइरनको मात्र बढी भएकाले धारामा धमिलो र फोहर पानी गएको बताए ।

विराटनगरको पिचरा र विएफ ऐरियामा ‘फिल्ट्रेसन प्लान्ट’ नहुँदा आइरनको मात्र देखिएको उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार खानेपानीमा आइरनको मात्रा शून्य दशमलव ३ हुनुपर्ने हो तर पिचरासहित दुई स्थानमा रहेको पम्प स्टेशनको पानीमा १ दशमलव १६ आइरनको मात्रा पाइएकाले समस्या भएको उनले बताए । प्रमुख साहले आइरनको समस्या समाधानका लागि चालु आर्थिक वर्षमा फिल्ट्रेसन प्लान्ट जडान गर्ने योजना रहेको बताए । प्लान्ट जडानपछि यस्तो समस्या हट्ने उनले बताए ।

प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका रहेको विराटनगर क्षेत्रमा चार वटा ट्याङकीबाट पानी वितरण हुने गरेको छ । यहाँ तीनपैनी, मुनालपथ, देवकोटाचौक र रानीमा रहेको खानेपानी ट्याङकीबाट पानी वितरण हुने गरेको छ । प्रत्येक ट्याङ्की साढे ४ लाख लिटर क्षमताको रहेको छ । महानगरपालिका क्षेत्रमा वितरण गर्न दैनिक १ करोड २० लाख लिटर पानी उत्पादन हुने गरेको संस्थानले जनाएको छ । संस्थानले ११ हजार ५ सय ४५ धारा जडान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्