साँढे ३३ किलाे सुन तस्करी प्रकरण- उच्च अदालत विराटनगरद्वारा डिएसपी केसी रिहा

साँढे ३३ किलाे सुन तस्करी प्रकरण- उच्च अदालत विराटनगरद्वारा डिएसपी केसी रिहा

विराटनगर, ३१ भदौ ।
सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डिएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् । केसीले सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि क्षेत्रीय कारागार झुम्का पठाएकोमा उच्च अदालत मोरङले उनलाई सादा तारेखमा छाड्ने आदेश दिएको हो । शुक्रवार पनि सोही मुद्दामा संलग्न रहेको आरोपमा एसएसपी दिवेश लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको थियो । उच्च अदालतका न्यायाधिश उमेश प्रसाद पौडेल र उमेशकुमार सिंहको संयुक्त ईजलाशले केसीको हकमा सादा तारेखमा छाड्ने आदेश गरेको हो । निवेदक प्रतिवादीले ईलाका प्रहरी कार्यालय उर्लावारीमा घटना बारे तत्काल जानकारी गराएको भए प्रतिवादीहरु पक्राउ पर्न सक्ने थिए भनी अनुमान गरेर यी प्रतिवादी बिरुद्ध लगाएको आरोप मिसिल संलग्न प्रमाणहरुबाट पुष्टिहुन सक्ने मनासिव आसय तत्काल मिसिल संलग्न प्रमाणबाट नदेखिँदा यी निवेदक प्रतिवादीलाई संगठित अपराध ऐनको दफा ४१ तथा मुलुकी ऐन ११८ (२) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरि भएको जिल्ला अदालतको मिति २०७५÷२÷८ को आदेश यी प्रतिवादीको हकमासम्म मिलेको नदेखिँदा बदर गरिदिएको छ, आदेशमा भनिएको छ । अब निबेदक प्रतिवादी प्रजित केसीलाई अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु आदेशमा भनिएको रजिष्टार नारायण प्रसाद रेग्मीले बताए ।
२०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनराबलोकन गर्न माग गर्दै केसलिे मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफु निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए ।
त्यस्तै अर्का प्रतिवादी राम तिवारीको हकमा पनि धरौटी माग भएको छ । सोही ईजलाशले सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाकै पुर्पक्षका लागि जेल चलान भएका अर्का प्रतिवादी राम तिवारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको हो । ५ लाख बराबरको नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाए तिवारी पनि रिहा हुने भउका छन् ।
आज उच्च अदालत विराटनगरमा आपराधिक समुह स्थापनार संचालन चोरी पैठारी र चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान मुद्दाका २३ वटा पेशी तोकिएका थिए । जसमध्ये २ जनाको मुद्दा आदेश भएको छ भने १ जनाको हेर्न नमिल्ने, १ जनाको हेर्न नभ्याइएको र १९ जनाको स्थगित भएको रजिष्ट्रमर रेग्मीले बताए ।
यस्तो थियो प्रजित केसी संलग्न घटना प्रकृति

सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट आएको टोलीको नेतृत्व गरेका केसीले सनम शाक्यको हत्या सिरहामा भएको भन्दै सार्बजनि गरेका थिए । सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’को समूहले हत्या गरेका युवक सनम शाक्यको शव व्यवस्थापन गर्न केसी धरान पुगेको आरोप लागेको थियो ।सनमको शव लुकाउन नसकेपछि प्रहरीले शवलाई बिराटनगरको पोखरियामा भेटाएको सार्बजनिक गरेको थियो । त्यसको नेतृत्व तिनै केसीले गरेको आरोप थियो । सनमको शवसहित टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेर जिल्ला प्रहरी मोरङलाई बुझाएको थियो । उनीहरुको वयानअनुसार सनमको शव प्रहरीलाई पर्खने क्रममा स्कोर्पियो राखेर एकदिनसम्म धरानमा घुमाइएको बयानमा भेटिन्छ । लास दबाउनको लागि काठमाडौंबाट आउँदै गरेको अपराध महाशाखाको टोलीमा डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल थिए । उनीहरुले बिभिन्न समयमा शव लिएर बसेका ब्यक्तिहरुसँग पनि कुरा गरेको प्रहरीको प्रतिबेदनमा पक्राउ परेका प्रतिवादीले दिएको बयान उल्लेख हुँदै आएको छ । शवलाई बा १२ च ५९६३ नं.को गाडीमा राखेर घुमाउँदै गर्नु र महाशाखाबाट प्रहरीको टोली आएपछि सबै उनीहरुले मिलाउँछन’ भनेको टेकराज मल्लको वयानमा उल्लेख छ ।
मल्लको वयानअनुसार राती २ बजे भेटिएका सञ्जेललाई भेटेको केहीबेरमा धरानको भानुचोकमै डीएसपी प्रजित केसी पनि आगेका थिए । र, उनीहरुले भानुचोकमा रहेको सिमेन्टको चौतारामा बसेर गफ गरे । प्रहरीहरुले सनमको लास गाडीमै भएको थाहा पाए तर, हेरेनन् । प्रहरी टोलीले गोरेलाई सम्पर्क गर्न खोजे तर, उनी भारत गइसकेका थिए । उनीहरुले गोरेकी पत्नी निरू भन्ने नर्बदा खरेललाई फोन गरी गोरेबारे सोधखोज गरे तर, निरुले अहिले मेरो सम्पर्क भएको छैन, सम्पर्क भएपछि तपाईलाई सम्पर्क गराइदिन्छू भनिन् र फोन स्वीच्ड अफ गरिन्, बयानमा उल्लेख छ । टेकराजको वयानअनुसार डीएसपी प्रजित केसीको प्रस्तावमा उनीहरु सुत्ने होटल खोज्न इटहरी पुगे । सञ्जेलले चिनेको होटल छ भन्दै इटहरी जाने प्रस्ताव गरे । भानुचोकबाटै प्रहरीको गाडी मगाए ।
‘सई संजेल, प्रहरी जवान मेष राना भने टेकराजले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोर्पियोमा बसे, जहाँ सनमको शव थियो । डीएसपी प्रजित केसी धरान प्रहरीले उपलब्ध गराएको गाडीमा बसेर इटहरी पुगे । सञ्जेलले चिनेको होटलमा फोन उठेन र उनीहरु चोकदेखि पश्चिमतर्फको स्वास्तिका होटेल पुगे । सनम शव गाडीको डिकीमा नै थियो । प्रहरी र गोरेका ड्राइभरले तीनवटा कोठा बुक गरे । ५०६, ५०९ र ५१० नं. का रुमहरु बुक गरी रुम नं. ५०६ मा डीएसपी प्रजित के सी, रुम नं. ५०९ मा प्रहरी जवान मेष राना र प्रहरीको गाडीका चालक र गोरेका चालक टेकराज बसे । रुम नं. ५१० मा सई सञ्जेल बसे’, बयानमा भनिएको छ ।
बिहान सञ्जेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई बोलाउन लगाए । बिहान अपराध महाशाखाको प्रहरी टोलीको सल्लाहअनुसार नै प्रहरीको गाडीमा डीएसपी प्रजित केसी र कृष्ण भन्ने नरेन्द्र कार्की चढे भने लाससहितको बा १२ च ५९६३ नं.को स्काोर्पियोमा प्रहरी जवान मेष राना चढे । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नं. को पिकअपमा सञ्जेलसहित अरु चढे । ईटहरीबाट विराटनगरतर्फ जाने क्रममा सई सञ्जेलले सनम शाक्यलाई करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री र तारहरु मे १ च ५३९५ नम्बरको को गाडीमा बा १२ च ५९६३ नम्बरको गाडीमा राखिदिए । त्यसपछि सनमको शव भएको गाडी अगाडि, डीएसपी केसी चढेको गाडी बीचमा र सञ्जेल चढेको गाडी पछाडी बसेर सुनसरीको दुहवी पुगे । डीएसपी केसीको निर्देशनअनुसार प्रहरी जवान मेष रानासहित आफूहरु जंगल खोजी लासको व्यवस्थापन गर्न दुहबी बजारबाट दाहिने साइड लागेको टेकराजको वयान छ । तर, लगभग २–३ किमी अगाडि जाँदा पनि जंगल नभेटेको र गाउँ आएपछि उनीहरु फर्किए । दुहबी बजारबाट विराटनगरतर्फ जाने क्रममा बरगाछी पुगेपछि डीएसपी केसीले पूर्वतर्फ छिर भने । यसपछि घटनाले नाटकीय मोड लियो । बरगाछीबाट पूवतिर करिव २०० मिटर अगाडि पुगेपछि डीएसपी प्रजित केसीले प्रहरी जवान रानालाई फोन गरेर गाडी रोक्न निर्देशन दिए । लगत्तै टेकराजले शव रहेको गाडी रोके । त्यहीबेला डीएसपी केसी चढेको गाडीले बाटो छेक्यो । प्रहरी जवान राना हतार हतार सनमको शव भएको गाडीबाट प्रहरीको गाडीतर्फ गए । डीएसपी केसीले प्रहरीको गाडीबाट बाहिर आएर सनमको शव भएको गाडीको चेकजाँचको नाटक गरे । डिकीमा सनमको शव थियो । ‘वरीपरी मानिसहरुको भीडभाड बढिसकेको थियो । हामीलाई गाडीमा राख्ने समयमा डीएसपी प्रजीत केसीले जिल्ला प्रहरी कार्यालय मोरङमा फोन गरेर गाडीमा लास फेला परेको र मानिसहरुको समेत भीडभाड भएको हुनाले थप प्रहरी आवश्यक प¥यो भनी प्रहरी बोलाए’ टेकराजको वयानमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्