धरान,१ भदाै। विश्वकर्मा पूजालाई लक्षित गरेर खोलिएका मिठाई पसलहरूमा धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । पूजाका लागि आवश्यक मिठाईको गुणस्तर कायम गर्न र जथाभावी खोलिएका पसलहरूलाई नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो ।
धरानको मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरूमा अखाद्य वस्तुको मिसावट गरी बनाइएको मिठाई अनुगमन टोलीले बरामद गरेको छ । टोलीले सडकको किनारमा जथाभावी खोलिएका पसलहरू बन्द गर्न निर्देशन दिएको छ । टोलीले धरानस्थित छाता चोकदेखि सम्पाङ चोकसम्मका १३ ओटा मिठाई पसलमा अनुगमन गरेको थियो । सो क्रममा टोलीले २ पसल बन्द गराएको छ भने ७ ओटा पसलबाट अखाद्य मिसावट गरेर बनाइएका विभिन्न परिकारका मिठाई नियन्त्रणमा लिएको छ । ६ ओटा पसलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीका संयोजक तथा धरान उपमहानगरपालिकाका प्रशासन अधिकृत दिवस अधिकारीले बताए ।
उनका अनुसार गुणस्तरीय मिठाई उत्पादन गर्न सचेतनामूलक प्रचारप्रसार गरिएको थियो । गत भदौ २३ गतेदेखि २५ गतेसम्म विश्वकर्मा पूजाको लागि तयार गरिने मिठाईजन्य पदार्थ गुणस्तरीय उत्पादन गर्न सचेत गराइएको उनले बताए । टोलीमा सुनसरी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ सुनसरी, प्रविधि क्याम्पस हात्तीसारका खाद्यविद्, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि सहभागी थिए ।