एसियन च्याम्पियनसिपका लागि राष्ट्रिय टोली भारत प्रस्थान

एसियन च्याम्पियनसिपका लागि राष्ट्रिय टोली भारत प्रस्थान

विराटनगर, ४ असोज ।
भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ ।  प्रतियोगिता ४६ औं संस्करणसम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागिताको अवसर पाए पनि टोली जितको उदेश्य सहित भारततर्फ लागेको बताए ।
प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री सहितको खेलाडी टोली पूर्वको काँकडभिट्टा नाका हुँदै भारत प्रस्थान गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार २८ सदस्यीय टोलीलाई मोरङको विराटनगर, हरैंचा, बेलबारी, उर्लाबारी र झापाको काँकडभित्तामा भव्य कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ ।
फुटबल संघ आवद्ध विभिन्न क्लव, पूर्व खेलाडी, जिल्ला स्थित एन्फाका पदाधिकारी तथा खेलप्रेमीले विजयका लागि अग्रिम शुभकामना दिंदै खेलाडीलाई फुल, माला र अविर लगाएर विदाई गरेका हुन् ।
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले भने यस अघि नै राष्ट्रिय टोलीको विराटनगरमा विदाई गरिसकेका छन् । २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली रहेको जानकारी एन्फा सदस्य अधिकारीले दिए । भने, ‘खेलाडीले पहिलो पटकको सहभागीलाई ठूलो अवसरका रुपमा लिएका छन् । ’
एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी सम्मिलित राष्ट्रिय टोली चयन गरिएको थियो । नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नयाँ अनुहार छन् । भारतको आग्रामा असोज ४ गतेबाट सुरु हुने प्रतियोगिता १० दिन सम्म चल्ने छ ।
नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई रक्षकको भूमिकामा रहने छन् । नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् ।
प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीले जित्नकै लागि खेल्ने बताए । ‘नेपाली फुटबललाई नयाँ उचाई र गति दिने हिसावको प्रदर्शन खेलाडीले गर्ने अपेक्षा छ,’ उनले भने, ‘एसियन च्याम्पियनसीपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रुपमा सदुपयोग गर्ने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्