गौर असोज ९ । रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना भएको मुद्धा अनुसन्धान गर्न बोलाउँदा नआएपछि जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।
गत भदौ ९ गते लाल बकैया नदीमा बन्दै गरेका पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना पाँच जनाको मृत्यु भएको साथै समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । रौनियार सोही कम्पनीका प्रमुख हुन् ।
तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ ।
२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।
२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।